लकडाउनमा कस्ता सवारीसाधनलाई पास आवश्यक पर्दैन ?
काठमाडौं। लकडाउनको समयमा सञ्चालन हुने अत्यावश्यक सबै प्रकारका व्यवसायलाई सवारी पास नचाहिने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ।

व्यवसायीलाई सवारी पास उपलब्ध गराउँदै आएको विभागले अत्यावश्यक सामग्रीको ओसारपसार गर्ने सवारीसाधनलाई पास नचाहिने बताएको हो।

गृह मन्त्रालयले दिएको सबै पास खारेज भएपछि सवारी पास वितरण गर्दै आएको विभागले दैनिक उपभोग्य वस्तु र अत्यावश्यक वस्तु बोकेका सवारीलाई विनापास चल्न दिने बताएको छ।

विभागका निर्देशक रविन्द्र आचार्यले खाद्य वस्तु, औषधि र औषधिजन्य वस्तु, पेट्रोलियम पदार्थ, खाना पकाउने एल.पी. ग्यास बोकेका सवारीसाधन बिना पास चल्न सक्ने बताए।

त्यसैगरी पशुपक्षीका आहार, खासी/बोका, कुखुरा, राँगा/भैँसी, तरकारी र फलफल तथा दूध तथा दुग्धजन्य पदार्थ बोकेका सवारीलाई समेत सवारी पास आवश्यक नपर्ने बताइएको छ।

तर, ती सामान नबोकेको अवस्थामा वा तोकिएका सामग्री लिन जान लागेको प्रमाण नभएको अवस्थामा भने सवारी पास आवश्यक पर्ने विभागले बताएको छ।

सवारी पास आवश्यक नपर्ने सवारीसाधनले पछाडि अन्य कुनै वस्तु नराखेको हुनुपर्ने तथा खाद्य वस्तुको नामसहित क्रेट राखेको हुनुपर्ने विभागले जानकारी दिएको छ।

यसका साथै एम्बुलेन्स र शव वाहनलाई समेत पासको आवश्यक्ता पर्दैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्