सुनुवाईको चरणमा पुग्यो एनसेलले नेपालविरुद्ध दिएको मुद्दा

काठमाडौं । इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्यूट (आईसीएसआईडी) मा नेपाल र एनसेलबीचको मुद्दाको सुनुवाई गर्ने मध्यस्थता ट्राइबुनलको गठन पूरा भएको छ ।

आईसीएसआईडीको प्रशासनिक परिषद्का अध्यक्षले दक्षिण कोरियाली नागरिक जुंगाई किमलाई ट्राइबुनलको अध्यक्ष नियुक्त गरेसँगै प्यानलले पूर्णता पाएको हो । अब याे मुद्दा सुनुवाईकाे चरणमा पुगेकाे छ।

यसअघि २३ जुलाईमा एनसेलले डच नागरिक अल्बर्ट जान भान डेन वर्गलाई आफ्नो मध्यस्थ नियुक्त गरेको थियो ।

एनसेलका तर्फबाट मध्यस्थ नियुक्त भएपछि नेपाल सरकारलाई मध्यस्थ नियुक्त गर्न सूचना दिइएकोमा सरकारले एनसेलसँगको कर विवादमा ‘आईसीएसआईडी’को क्षेत्राधिकार नहुने भन्दै प्रक्रियामा सहभागी हुन अस्वीकार गरेको थियो ।

त्यसपछि ‘आईसीएसआईडी कन्भेन्सन’को धारा ३८ अनुसार ‘आईसीएसआईडी’ले नै नेपालका तर्फबाट अमेरिकी नागरिक पउल फ्रेडल्याण्डलाई २४ सेप्टेम्बरमा मध्यस्थ नियुक्त गरिदिएको थियो ।

यी दुई मध्यस्थले संयुक्त रूपमा छनोट गरेका दक्षिण कोरियाली नागरिक किमलाई ‘आईसीएसआईडी’ को प्रशासनिक परिषद् अध्यक्षले प्यानलको अध्यक्ष नियुक्त गरेका हुन् ।

एक्जियटा इन्भेष्टमेन्ट (यूके) र एनसेल प्रा.लि. (नेपाल) ले नेपाल सरकारविरुद्ध मध्यस्थताका लागि आईसीएसआईडीमा दिएको निवेदनको प्रक्रिया अगाडि बढाउन यसरी मध्यस्थको प्यानल नियुक्त गरिएको हो ।

अब यी तीन जना मध्यस्थले नै नेपाल सरकारविरुद्धको एनसेलको मुद्दाको सुनुवाई गर्नेछन् ।

एनसेलले २० मे २०१९ मा नेपालविरुद्ध ‘आईसीएसआईडी’ मा मुद्दा दर्ता गराएको थियो ।

‘आईसीएसआईडी’ लाई यसका सदस्य राष्ट्र र उसका नागरिकले गरेको वैदेशिक लगानीसम्बन्धी विवादमा लगानीकर्ता र ‘होस्ट स्टेट’ बीच विवाद भएमा त्यसको सुनुवाई गर्ने अधिकार छ ।

‘आईसीएसआईडी’ को सदस्यको रूपमा नेपालले यो कुरा स्वीकार गरेको छ भने अर्कोतर्फ नेपाल र बेलायतबीच भएको लगानी सुरक्षा तथा प्रवर्द्धनसम्बन्धी सम्झौताले पनि त्यो कुरा स्वीकार गरेको छ ।

तर ‘आईसीएसआईडी’ लाई लागनीसम्बन्धी विवाद मात्र हेर्ने अधिकारक्षेत्र भएकाे दावी गर्दै नेपालले एनसेलसँगको कर विवादमा ‘आईसीएसआईडी’को क्षेत्राधिकार नहुने दावी गर्दै आएको छ । यद्यपी अब नेपालको अनुपस्थितिमै पनि सुनुवाई प्रक्रिया अगाडि बढ्नेछ ।

नेपालले प्यानलसमक्ष पनि यो मुद्दामा उसको क्षेत्राधिकार नरहेको दावी भने गर्नसक्छ । प्यानलको पहिलो बैठकले मुद्दाका पक्ष विपक्षलाई दावी र प्रतिदावी पेश गर्ने मिति र सूचना दिनेछ ।

मध्यस्थकर्ताको रूपमा लामो अनुभव भएका प्यानलको अध्यक्ष नियुक्त जुंगाई किम दक्षिण कोरियाको विश्वविद्यालयमा कानून प्रध्यापन गर्छन् ।

पढ्नुहाेस्

एनसेल विरुद्धको मुद्दामा पउल फ्रेडल्याण्ड नेपालको मध्यस्थ नियुक्त

प्रतिक्रिया दिनुहोस्