नेपाल विशेष सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं। नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भएको छ।

राष्ट्रिय सभाको आजको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समितिको छलफलमा उठेका विषयहरू समावेश गरिएको बताइन्।

मुलुकको सुरक्षा, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र नेपाली नागरिकको सुरक्षासँग जोडिएको कुराहरू समितिमा छलफल भएकाले त्यसलाई अगाडि बढाउँदै जानुपर्ने उनले बताइन्।

यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद प्रमिला कुमारीले समितिमा भएको छलफल विपरीतको विधेयक राष्ट्रिय सभामा पेश भएको भन्दै आपत्ति जनाएकी थिइन्।

समितिको छलफलमा दफा १५ को उपदफा १ मा संविधानविपरीत संशोधन गरिएको भन्दै उनले आपत्ति प्रकट गरेकी थिइन्।

४५ प्रतिशत आरक्षण कोटामा आर्थिक, सामाजिक र राजनीतिक पहुँच नभएका मधेशी, आदिवासी, जनजाति, दलित थारू र मुस्लिमका लागि छुट्याइएको भए पनि त्यसै कोटाबाट १० प्रतिशत खस आर्यका लागि छुट्याइएकोमा उनको आपत्ति थियो।

विपन्न खस आर्यले पनि आरक्षण पाउनुपर्नेमा आफ्नो असहमति नभए पनि ४५ प्रतिशत आरक्षण कोटाबाट नभई ५५ प्रतिशत खुलाबाट चार प्रतिशतसम्म कटौती गरी आरक्षण गर्नु उचित हुने उनले बताइन्।

सांसद कोमल वलीले ऐनमा राष्ट्रिय हित, राष्ट्रिय सुरक्षाका कुराहरू समेटिएको बताइन्। ऐनमा टेलिफोन ट्यापिङ गरिन्छ भन्ने कुरा समेटिएको भन्ने अफवाह फैलाइएको उनको भनाइ छ।

राष्ट्रिय हित विपरीत, देशको सार्वभौमसत्ता, स्वतन्त्रता र संविधानविपरीत काम गर्नेहरूलाई परास्त गर्न ऐनको आवश्यकता परेको उनले बताइन्।

पारित विधेयक अब प्रतिनिधि सभामा जानेछ।

प्रतिक्रिया दिनुहोस्