पुरूष र महिलाबीच तलबमा विभेदः समीराले बीबीसीलाई अदालत पुर्याइन्

बेलायती समाचार संस्था ‘ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन’ (बीबीसी) संसारभर लोकतन्त्र र मानव अधिकारको पक्षमा उसले गर्ने रिपोर्टिङका लागि चर्चित छ ।

मानव अधिकारको एउटा पाटो समान कामका लागि समान ज्याला हो । तर एउटै भूमिकामा रहेका पुरुष र महिला कर्मचारीलाई दिने असमान ज्यालाका कारण पछिल्लो समय बीबीसी विवादमा पर्ने गरेको छ ।

त्यहाँ कार्यरत एकजना महिला पत्रकारले हालै बीबीसीलाई यही विषयमा अदालतसम्म पुर्‍याएकी छन् ।

बीबीसीकी चर्चित पत्रकार समीरा अहमदले समान कामका लागि पुरुष सहकर्मी भन्दा आफूलाई कम तलब दिइएको भन्दै मुद्दा दायर गरेकी हुन् ।

‘द गार्जियन’ले जनाए अनुसार लण्डन इम्प्ल्योपेमेन्ट ट्रिब्युनलमा अर्को साता तीन दिन सुनुवाई हुनेछ ।

अहमदले बीबीसी रेडियोमा कलासम्बन्धी चारवटा र बीबीसी न्युज च्यानलमा ‘फ्रन्ट रो’ र ‘न्युजवाच’ नामका कार्यक्रम चलाउँथिन् ।

अहमद बीबीसी वुमनकी सदस्य पनि हुन् । यो संस्थामा सय भन्दा बढी पत्रकार र कार्यक्रम निर्माताहरु सदस्य छन् । सन् २०१७ देखि यो संस्थाले असमान ज्यालासँग सम्बन्धित विषयहरुमा आवाज उठाइरहेको छ ।

बीबीसीमा असमान ज्यालाका थुप्रै दावी रहे पनि त्यसलाई अदालतसम्म पुर्‍याउने अहमद सम्भवतः पहिलो पत्रकार हुन् ।

महिला अधिकारमा काम गर्ने संस्था ‘फसेट सोसाइटी’ की कार्यकारी प्रमुख साम स्मेथर्स भन्छिन्, “बीबीसीमा रहेका असमान ज्यालाका अन्य मामिलाबारे पनि हामीले ध्यान दिइरहेका छौं र हामीलाई थाहा छ– समीरा अहमद एक्ली छैनन् । हामी महिला अगाडि आउँदा उनीहरुलाई गरिने व्यवहारप्रति चिन्तित छौं ।”

बीबीसीले आफ्नो कमजोरी महसुस गर्नुपर्नेमा स्मेथर्सले जोड दिइन् ।

भनिन् – “बीबीसीले जे गरिरहेछ त्यो पूर्णत अस्वीकार्य छ । समान ज्याला पाउनु महिलाको अधिकार हो ।”

असमान ज्याला दिएको आरोपमा बीबीसीमाथि प्रश्न उठेको पहिलोपटक होइन । गत वर्ष उसले क्यारी ग्रेसीसँग माफी मागेको थियो । ग्रेसी बीबीसीकी चीन सम्पादक थिइन् ।

बीबीसीले वर्षौंदेखि उनलाई पुरुष सहकर्मीलाई भन्दा कम तलब दिइएकोमा माफी माग्दै क्षतिपूर्ति पनि दिएको थियो ।

ग्रेसीले गत वर्ष आफ्नो पदबाट राजीनामा दिएकी थिइन् र सार्वजनिक सहयोगबाट सञ्चालित संस्थाले विभेद गरेको तथा समानतासम्बन्धी कानून उल्लंघन गरेको आरोप लगाएकी थिइन् ।

ग्रेसीलाई उनले पाउँदै आएको तलबमै चीन सम्पादकको रुपमा काम गर्न प्रस्ताव गरिएको थियो । उनले त्यही प्रस्ताव स्वीकार गरेर काम थालेकी थिइन् । पछिमात्र उनले सोही भूमिकामा काम गर्ने पुरुषहरुले दोब्बर तलब पाउनेगरेको थाहा पाएकी थिइन् ।

बेलायती संसद्ले पनि बीबीसीलाई असमान ज्याला दिएकोमा सचेत गराइसकेको छ । संसद्को ‘डिजिटल, संस्कृति, सञ्चार र खेलकुद समिति’ले गत जनवरीमा बीबीसीलाई सचेत गराएको थियो ।

समितिको प्रतिवेदनमा लेखिएको छ – ‘हामी हाम्रो छानविनको निष्कर्ष दोहो¥याउछौँ– बीबीसीमा कार्यरत महिलाहरुले समान पदका लागि पुरुषले पाउनेभन्दा निकै कम तलब पाइरहेका छन् ।’

इन्डिपेन्डेन्टबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्