थप नेपाली कामदार लैजान दक्षिण कोरिया तयार

सोल। रोजगार अनुमति प्रणालीअन्तर्गत जेठमा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। तर, त्यसको तयारीमा रहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराएर ल्याउन दक्षिण कोरियाको सरकार तयार भएको छ।

नेपालस्थित ईपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मंगलबार रोजगार विभागमा भएको बैठकमा रोकिएको परीक्षा डिजिटल प्रविधिबाट अगाडि बढाइने बताएका छन्।

ईपीएस प्रणालीअन्तर्गत नेपालसहित १६ देशका नागरिक कोरियाको भाषा परीक्षा उत्तीर्ण गरेर दक्षिण कोरियामा रोजगारीमा छन्। दक्षिण कोरियामा ४० हजारभन्दा बढी नेपाली युवा ईपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन्।

वर्षेनि नेपालबाट सात हजार युवा दक्षिण कोरिया पुग्‍ने गर्छन्। यस वर्ष पनि सात हजार दरबन्दी नेपालका लागि छुट्याइएको थियो। कोरोना भाइरस महामारी रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण परीक्षा कहिले हुने भन्‍ने अनिश्‍चित थियो। यसैबीच कोरिया सरकारको पक्षबाट यो निर्णय आएको हो। रासस

प्रतिक्रिया दिनुहोस्