गृहले उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गर्दै भन्यो- ‘सबै नाका पूर्ण रूपमा सिल गर’

काठमाडौं। गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनमा बाहेक पूर्ण रूपमा सिल गर्न परिपत्र गरेको छ।

१ जेठमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा स्थानीय तह र सुरक्षा निकायका प्रमुखहरू सहभागी भएको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न भन्दै गृह मन्त्रालयले सबैलाई परिपत्र जारी गरेको हो।

गृह मन्त्रालयका सह-प्रवक्ता उपसचिव उमाकान्त अधिकारीले १ जेठमा भएको बैठकको निर्णय कार्यान्वयनका लागि उपत्यकाका स्थानीय तहहरूमा निर्देशनसहितको पत्राचार भएको जानकारी दिए। गृहले लुकीछिपी हुने प्रवेश पूर्ण रूपमा रोक्न पनि निर्देशन दिएको छ।

बाहिरबाट प्रवेश नरोकिँदा बढी जनघनत्व भएको काठमाडौं उपत्यका बढी जोखिममा रहेको देखिएकाले अत्यावश्यक काममा बाहेक प्रवेश निषेध गर्न गृहले निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तहले प्रशसनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटेल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरूमा क्‍वारेन्टाइन बस्‍ने व्यक्ति स्वयंले त्यसको खर्च भुक्तानी गर्ने गरी सम्भावित क्‍वारेन्टाइन प्रयोजनका लागि लगत संकलन र अन्य व्यवस्थापनको काम अगाडि बढाउन पनि गृहको परिपत्रमा उल्लेख छ।

अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले त्यसअघि नै स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी त्यसको रिपोर्टका साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने भएको छ।

स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकिछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी, लगत संकलन आवश्यक कारबाहीको प्रक्रिया शुरु गर्न र सबै सुरक्षा निकायलाई उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने र स्थानीय तहसँग समन्वय गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ।

१ जेठको बैठकमा गृहमन्त्री थापा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौं उपत्यका नाका भएका नगरपालिकाका प्रमुखहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्