डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता

बैतडी। सडक निर्माणको क्रममा स्थानीयमाथि डोजरले आक्रमण गर्ने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरिएको छ।

डोजर चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिएका छन्।

जिल्ला अदालतबाट १० दिनको म्याद थपेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दशरथचन्द नगरपलिकामा-९ ग्वाल्लेकमा सडक निर्माणको क्रममा विवाद हुँदा सडक खनिरहेको डोजरको आक्रमणबाट ४ कात्तिकमा ९ जना घाइते भएका थिए।

सुण्नाखान-पार्स सडक निर्माण गर्दा गुठीको जग्गामा डोजर चलाउन नदिएपछि सडकको पक्ष र विपक्षमा रहेका स्थानीयबीच विवाद भएर झडप भएको प्रहरीले जनाएको छ।

सडकमा पर्ने जमीन गुठीको जमीन रहेको भन्दै तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएकोमा एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो।

सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। रासस

पढ्नुहोस्:

बैतडीमा डोजर आक्रमणः ९ जना घाइते, चालकसहित ४ पक्राउ

प्रतिक्रिया दिनुहोस्