यस वर्ष आर्थिक वृद्धिको लक्ष्य नै तय गर्दैनौंः चीन

बेइजिङ । चीनले यस वर्ष आर्थिक वृद्धिको लक्ष्य नै तय नगर्ने घोषणा गरेको छ ।

आज बिहान बेइजिङमा नेशनल पिपुल्स कंग्रेस (एनपीसी)लाई सम्बोधन चिनियाँ प्रधानमन्त्री ली खछ्याङले उक्त घोषणा गरेका हुन् ।

एनपीसीको वार्षिक संसदीय बैठकमा करिब तीन हजार प्रतिनिधि सहभागी छन् । एनपीसीको बैठकले नै देशको वार्षिक बजेट स्वीकृति गर्छ । र, अर्थव्यवस्थाको वृद्धिको लक्ष्य पनि तय गर्छ ।

“हाम्रो देश यतिबेला कुनै चिजसँग जुझिरहेको छ र यस्तो अनिश्चितताले बास गरेको समयमा प्रगतिको अनुमान लगाउन मुस्किल छ,” प्रधानमन्त्री खछ्याङले भने, “यो अनिश्‍चितता कोभिड-१९ का कारण उत्पन्‍न भएको हो । यसका कारण संसारभरका अर्थव्यवस्था प्रभावित भएका छन् र कारोबारमा गम्भीर असर पुगेको छ ।”

उनका अनुसार चीनको बजेट घाटा सन् २०१९ को तुलनामा बढेको छ । चीनले सन् १९९० देखि आर्थिक वृद्धिको लक्ष्य निर्धारण गर्न थालेको हो । त्यसयता यो पहिलोपटक हो, चीनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को कुनै लक्ष्य तय गरिरहेको छैन ।

कोभिड-१९ को महामारीलाई पूर्ण रूपमा नियन्त्रणमा लिन थप एक खर्ब युआन खर्च गर्ने योजना रहेको प्रधानमन्त्री खछ्याङले एनपीसी प्रतिनिधिलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्