बलात्कार र हत्या गरी फरार एक नेपाली १९ वर्षपछि अमेरिकामा पक्राउ

काठमाडौं । १९ वर्षअघि बलात्कार र हत्या गरी अमेरिका फरार रहेका एक नेपालीलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइएको छ।

झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो।

नेपाल प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोल वासिङटनसँग आग्रह गरेको थियो।

नेपाल प्रहरीको पटक–पटकको आग्रह र पत्राचारपछि गौतमलाई ३ फेब्रुअरी २०१८ मा पक्राउ गरिएको थियो।

उनलाई ५ कात्तिकमा टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।

२९ असोज २०५७ मा गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी-३ की एक युवतीको सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेका थिए।

हत्यापछि युवतीको शव रूखमा झुण्डाइएको थियो।

घटनाको दोस्रो दिन मृतक युवतीका बुवाले तीनैजनाविरुद्ध ३० असोज २०५७ मा जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए।

जाहेरी लगत्तै गौतम पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा रहेका उनलाई जिल्ला अदालतले २१ कात्तिक २०५८ मा सफाइ दिएको थियो।

त्यसपछि मुद्दा पुनरावेदन अदालत पुगे पनि त्यहाँबाट समेत उनलाई सफाइ दिइएको थियो।

त्यसपछि पीडितले सरकारी वकीलको कार्यालयमार्फत् १९ भदौ २०६६ मा सर्वोच्च अदालतमा पुनरावेदन गरे।

सर्वोच्च अदालतले भने उनीहरू सबैलाई जन्मकैदको फैसला सुनाएको थियो।

जिल्ला अदालतबाट सफाइ पाएका गौतम त्यतिन्जेल अमेरिका पुगिसकेका थिए।

१० महिना जेल बसिसकेका गौतमलाई सर्वोच्च अदालतले १९ वर्ष २ महिना कैद सजाय सुनाएको थियो।

नेपाल ल्याइएका उनलाई आवश्यक कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गौतमलाई प्रहरीले कारागार चलान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्