निजी क्षेत्रलाई समेटेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं। विराटनगरका उद्योगी/व्यवसायीले निजी क्षेत्रलाई समेट्ने गरी सरकारले राहतका कार्यक्रम नल्याए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

आज विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रममा निजी क्षेत्रको माग नसमेटे पनि सरकारले बजेटमार्फत् निजी क्षेत्रका लागि राहतका कार्यक्रम ल्याउनु पर्ने बताएका हुन्।

बजेटमा पनि सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेमा सबै उद्योग व्यवसाय बन्द गरेर सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको भनाइ छ।

देशको अर्थतन्त्रमा उत्कृष्ट योगदान दिँदै आएका उद्योगी/व्यवसायीलाई विश्वव्यापी महामारीको समयमा सरकारले बेवास्ता गरेको उनीहरूको आरोप छ।

विदेशी मुलुकहरूले उद्योग व्यवसाय बचाउन राहतका प्याकेज सार्वजनिक गरिरहेको बताउँदै उनीहरूले बजेटमार्फत् राहतका कार्यक्रम नल्याए सबै उद्योग बन्द गर्ने बताएका छन्।

मोरङ उद्योग संघका अध्यक्ष भीम घिमिरेले निजी क्षेत्रले दिएको सुझावलाई बजेटमा समेट्नु पर्ने बताए।

उनले विदेशी मुलुकले राहतको कार्यक्रम ल्याएर कार्यान्वयन गरिसक्दासमेत नेपाल सरकारले अहिलेसम्म कुनै राहत नदिएको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्