लाकुरीभञ्याङ र चापाखर्कमा गरिएकाे गाँजाखेती नष्ट
काठमाडाैं। स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

उनका अनुसार २०० भन्दा बढी प्रहरी परिचालन गरेर गाँजाखेती फाँडी जलाएर नष्ट गरिएको हो।

गाउँमा पुग्दा पुरुषहरू कोही पनि नभेटिएको जानकारी दिँदै उनले सो क्षेत्रमा व्यावसायिकरूपमा गाँजाखेती गरेको पाइएको बताए।

महिलाहरूले भने बँदेलले मकै खाने गरेकाले विकल्पको रूपमा गाँजाखेती गरेको प्रतिक्रिया दिएका बताइएको छ।

कानूनले गाँजाखेतीलाई अवैध मानेको छ।

मुलुकका विभिन्न जिल्लाका पहाडी क्षेत्रमा ठूलो मात्रामा गाँजाखेती हुने गरेको छ।

प्रहरीले हरेक वर्ष गाँजाखेती फँडानी गर्ने गरिएको भए पनि खेती लगाउने क्रम भने रोकिएको छैन। उनीहरूलाई विकल्प दिनुपर्ने आवाज बर्सेिन उठ्दै आएको पनि छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्