संघीय संसद्को लोगोलाई पूर्ण नक्शा अनुसार परिर्माजन गरिने

काठमाडौं। संघीय संसद्को प्रतिकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज सिंहदरबारमा बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो।

सरकारले नेपालको अतिक्रमित भूभागसमेत समेटेर पूर्ण नक्शा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्शा परिवर्तन गर्नुपर्ने भएकाले समितिले उक्त निर्णय गरेको हो।

यसैगरी, प्रतिनिधि सभाका सदस्यहरूले प्रयोग गर्दै आएको प्रतीकलाई समेत नेपालको पूर्ण नक्शा अनुरूप परिमार्जन गर्ने निर्णय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए।

बैठकको निर्णय अनुसार रोष्ट्रमा राखिएको लोगो र प्रतिनिधि सभाका सदस्यले लगाउँदै आएको प्रतीक परिमार्जनका लागि तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ।

यसअघि आज बिहान बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिले पनि यस्तै निर्णय गरेको थियो।

संघीय संसद्का दुवै सदनमा सांसदहरूले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउनका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय गरेको थियो।

नेपालले पूर्ण नक्शा जारी गरेसँगै राजपत्रमा प्रकाशित भइसकेको छन् भने संविधान संशोधन विधेयक पनि संसद् सचिवालयमा दर्ता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्