काँकडभिट्टा नाका एकतर्फी सञ्चालन हुँदा राेकियाे नेपालबाट निर्यात हुने चिया

काठमाडौं। नेपालबाट भारततर्फ निर्यात हुँदै आएको चिया पूर्वीनाका काँकडभिट्टा भन्सारमा रोकिन थालेको छ।

भारतको पश्चिम बंगाल सरकारले काँकडभिट्टा नाकालाई एकतर्फीरूपमा सञ्चालन गर्दा यहाँबाट निर्यात हुँदै आएको चिया रोकिएको हो।

खासगरी, बंगाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण नेपाल, भुटान र बंगलादेशसँग जोडिएका भन्सार नाका सिल गरेको थियो।

तर, नेपालले नाका खोल्न उच्चस्तरीय पहल गरेपछि बंगाल सरकारले एकतर्फीरूपमा नाका सञ्चालनमा ल्याएको थियो।

त्यसरी एकतर्फीरूपमा सञ्चालनमा आएको नाकाबाट सामान बोकेका मालवाहक सवारीसाधन नेपालतर्फ मात्र आउन पाउने व्यवस्था गरिएको थियो।

तर, नेपाल छिरेका सवारीसाधान अर्कै नाकाबाट भारततर्फ जान पर्ने व्यवस्था गरिँदा काँकडभिट्टा नाकाबाट निर्यात हुँदै आएको चिया/कफीको निर्यात समेत प्रभावित बनेको हो।

झापा, इलाम, पाँचथरलगायतका जिल्लामा उत्पादित चिया/कफी निर्यातमा अवरोध सिर्जना भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरणका लागि भारतलाई औपचारिक पत्र लेखेको छ।

मन्त्रालयले विगतदेखि विनाअवरोध निर्यात हुँदै आइरहेको चिया लकडाउनकाे कारण निर्यात नभएको बताउँदै निर्यातमा सहजीकरण गरिदिन अनुरोध गरेको छ।

वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले भारतलाई पत्र लेखिएको पुष्टि गरे। उनले भने, “नाकामा अवरोध भएको जानकारी आएपछि सहजीकरणका लागि पत्र काटेका छौं।”

प्रतिक्रिया दिनुहोस्