लकडाउन अवधिको ब्याज मिनाहा गर्न डेरी व्यवसायीको माग

काठमाडौं। डेरी व्यवसायीहरूले बजेटमार्फत् राहत प्याकेज ल्याउन माग गरेका छन्।

डेरी व्यवसायीहरूले नै आज आयोजना गरेको भर्चूअल कार्यक्रममा किसानलाई राहत दिने गरी बजेट ल्याउन माग गरेका हुन्।

करीब ३० अर्ब रूपैयाँ बराबरको लगानी रहेको डेरी व्यवसाय अहिले समस्यामा परेको छ। सामान्य अवस्थामा दैनिक २० देखि ३० लाख रूपैयाँको कारोबार हुने गरेको व्यवसायीहरूले बताए।

नेपाल डेरी संघका अध्यक्ष राधाकृष्ण सापकोटाले व्यवसायी र किसानलाई आगामी वर्षको बजेटमार्फत् राहत दिनुपर्ने बताए। उनले लकडाउन अवधिको ब्याज मिनाहा गरिनुपर्ने बताएका छन्।

समस्यामा परेको डेरी व्यवसायलाई पुनरूत्थान गर्नका लागि आगामी पाँच वर्षसम्मको सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए।

सहुलियत ऋणको व्यवस्था गरे डेरी व्यवसाय पुरानै अवस्थामा आउन सक्ने उनको भनाइ छ।

आगामी दिनमा नयाँ डेरी उद्योग खोल्नतर्फ भन्दा पुरानै उद्योग पूर्ण क्षमतामा चल्न सक्ने व्यवस्था मिलाउनुपर्ने व्यवसायीहरूले बताएका छन्।

सरकारले प्रभावकारीरूपमा पुनरूत्थानको कार्यक्रम ल्याए डेरी क्षेत्रबाट मात्रै २० हजार श्रमिकले रोजगारी पाउन सक्ने संघका पूर्वअध्यक्ष सुमित केडीयाले बताए।

त्यसबाहेक दूध उत्पादनमा रहेका हजारौं कृषकको उत्पादनले बजार पाउन सक्ने अवस्था आउने डेरी व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्