प्रदेश १ सभाको बैठक दुई वटा तलाबाट सञ्चालन गरिने

विराटनगर। भोलि, १४ जेठदेखि शुरू हुने प्रदेश १ को बजेट अधिवेशनमा सभाहल साँघुरो भएपछि प्रदेश सभाले दुई वटा तलामा बैठक सञ्‍चालनको तयारी गरेको छ।

सामाजिक दूरी कायम गर्दै पहिलेको सभाहलमा बैठक संचालन गर्न असम्भव भएकोले भुँई तला र पहिलो तलामा रहेको दुवै सभाहलहरुलाई प्रयोग गरेर बैठक चलाउने तयारी गरिएको प्रदेश सचिवालयले जनाएको छ।

सभाहलभित्र अब ६५ वटा मात्र कुर्सी राखिएको छ। माथिल्लो तलामा ३० वटा कुर्सीको व्यवस्था गरिएको छ।

सभाहलको पुरानो संरचनामा प्रदेशसभा सदस्यहरूका लागि ९३ वटासहित दर्शकदीर्घा र पत्रकारका लागिसमेत गरी १२० वटा कुर्सीहरू थिए।

माथिल्लो हलमा बस्ने सांसदहरुले टेलिभिजन सेटमार्फत भुँईतलाको गतिविधि अवलोकन गर्ने र माथिल्लो हलको गतिविधि भुँईतलामा रहेको टेलिभिजन सेटबाट अवलोकन गरिनेछ। सभामुखले कम्प्युटरको मोनिटरबाट माथिल्लो सभाहलको गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।

पत्रकारका लागि नेपाली कांग्रेस संसदीय दलको कार्यकक्षमा मिडिया सेन्टर स्थापना गरी टेलिभिजन सेटमार्फत समाचार संकलनको प्रबन्ध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्