अनधिकृतरूपमा नेपालको पूर्ण नक्शा छापे २० हजार जरिवाना

काठमाडौं। नापी विभागले हालै जारी गरिएको नेपालको पूर्ण नक्शा स्वीकृतिबिना व्यावसायिकरूपमा मुद्रण गरी बिक्री वितरण गरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले आज दोस्रोपटक सूचना जारी गर्दै विभागको स्वीकृतिबिना व्यावसायिकरूपमा नक्शा छापेर बिक्री वितरण गरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो।

विभागले यसअघि पनि १० जेठमा सूचना जारी गर्दै अनधिकृतरूपमा नक्शा छाप्न वा बिक्री वितरण नगर्न अनुरोध गरेको थियो।

सूचनामा कानूनविपरीत कसैले नक्शा छापे वा बिक्री वितरण गरे जग्गा (नाप जाँच) ऐन २०१९ अनुसार कारबाही गर्ने चेतावनी दिएका हो। ऐनका दफा १२ को उपदफा (५) मा स्वीकृति नलिई कुनै काम कारबाही गरेको खण्डमा २० हजारसम्म जरिवाना गर्न सक्ने र त्यसरी स्वीकृति नलिई गरिएको कामसँग सम्बन्धित सम्पूर्ण नाप नक्शालगायतका अन्य सामग्रीहरू जफत गरिने व्यवस्था छ।

विभागका महानिर्देशक प्रकाश जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा विभागको वेबसाइटबाट राजनीतिक तथा प्रशासनिक नक्शा डाउनलोड गर्न सकिने जनाइएको छ।

नक्शा आवश्यक भएको खण्डमा विभागबाट नियमानुसार राजश्व बुझाएर लिन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्