गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : महामारीको चुनौतिलाई परास्त गरेरै छाड्छौं (भिडिओसहित)

काठमाडौं । बाह्रौं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको महामारीलाई परास्त गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

“गणतन्त्र प्राप्तिको लामो र कष्टसाध्य संघर्षको अनुभवमाथि आधारित भएर भन्‍न चाहन्छु, यस चुनौतिलाई पनि हामीले परास्त गरिछाड्ने छौँ । रात जतिसुकै लामो भए पनि बिहानी अवश्यंभावी छ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

सिंगो मानव समुदाय कोरोना महामारीविरुद्धको कठिन संघर्षमा जुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो पुस्ताले भोग्‍नु परेको सर्वाधिक ठूलो यस चुनौतीले हाम्रा प्राथमिकताहरू मात्रै होइन, हाम्रो कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित गरेको छ । हामी नेपालीहरू पनि कोरोना महामारीका विरुद्धको कठिन संघर्षमा केन्द्रित छौं ।’

“गणतन्त्र दिवसको सन्दर्भमा सबैमा कोरोना संक्रमणबाट सुरक्षित रहन र यसबीचमा जसलाई संक्रमण भएको छ, उहाँहरू छिट्टै निको भएर सामान्य जीवनमा फर्कन सक्नुहोस् भन्‍ने शुभकामना व्यक्त गर्न चाहन्छु,” प्रधानमन्त्रीले भनेका छन् ।

यस्तो बेलामा सिंगो देश र देशवासी एकजुट भएर कोरोनाविरुद्ध लड्न जरुरी भएको प्रधानमन्त्रीले बताएका छन् । “र, गणतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न एकताबद्ध प्रयासहरूलाई अगाडि बढाउन जरुरी छ,” उनले भनेका छन् ।

गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, नयाँ संविधान निर्माण र संक्रमणकालको अन्त्य गर्न केन्द्रित हुनुपरेको स्मरण प्रधानमन्त्रीले गरेका छन् । “गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ । वर्षौँदेखि मूर्छित विकास र समृद्धिका सपनाहरूले साकार रूप लिन थालेका छन्,” सन्देशमा भनिएको छ, “आफ्नो देश आफैं बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ । राष्ट्रिय एकता सुदृढ भएको छ । आफ्नो निर्णय आफैं गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढंगले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ ।”

लामो संक्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । “यसअघि लगातार औसत सात प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यावसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरूमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ,” प्रधानमन्त्री ओलीले भनेका छन्, “कोरोना महामारी शुरु हुनुपूर्वका सूचकहरू अत्यन्त उत्साहवद्र्धक छन् ।”

“जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरू स्थापित हुने, उनीहरूको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरूको हुकुम नै कानुन हुने चरम अलोकतान्त्रिक प्रणाली अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौं,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “सशस्त्र द्वन्द्वको शृंखला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र संक्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ ।”

लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन्,” प्रधानमन्त्रीले भनेका छन्, “गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन ।”

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस्