सामाजिक सञ्जालसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारीमा अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्‍जालसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षरको तयारीमा रहेको ह्वाइट हाउसको उच्च स्रोतले जानकारी दिए।

कार्यकारी आदेशको विषय राष्‍ट्रपति ट्रम्पले सामाजिक सञ्‍जालको प्लेटफर्म नै बन्द गर्ने धम्की दिएलगत्तै सार्वजनिक भएको छ। सामाजिक सञ्‍जालले परम्परावादी (कन्जरभेटिभ) आवाज दबाउन खोजेको आरोप लगाएका थिए।

गत मंगलबार ट्रम्पको एक ट्विटमाथि ट्विटरले ‘फ्याक्ट चेक’को लिंक जोडिदिएपछि उनी सामाजिक सञ्‍जालहरूसँग क्रुद्ध भएका हुन्। त्यसलगत्तै ट्रम्पले सामाजिक सञ्‍जालहरूमाथि सख्त नियम लगाएर पूर्ण रूपमा बन्द गराउने धम्की दिएका थिए।

ह्वाइट हाउसले ट्रम्पले हस्ताक्षर गर्न लागेको कार्यकारी आदेशको विवरण सार्वजनिक गरेको छैन।

हिजो पनि ट्रम्पले ट्विटरमाथि कारवाही गर्ने तयारी भइरहेको आशयमा ट्विट गरेका थिए।

“ठूला प्रविधि कम्पनीहरू सन् २०२० को चुनावलाई हेर्दै आफ्नो हैसियतअनुसार जति हुन्छ, सेन्सर गरिरहेका छन्,” ट्रम्पले अर्को ट्विटमा लेखेका छन्, “म त्यसो हुन दिने छैन। सन् २०१६ मा पनि यिनीहरूले प्रशस्त प्रयास गरेका थिए।”

अमेरिकी न्युज च्यानल ‘फक्स न्युज’सँग कुरा गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्‍जालमाथि सेन्सरसिपबारे सरकारले सोच राख्नु पनि गलत हुने बताएका छन्।

ट्विटरले पछिल्ला वर्षमा नक्कली एकाउन्टहरूमाथि कडाइ गर्दै आएको छ। सामाजिक सञ्‍जालप्रति ट्रम्पको क्रोध देखिएलगत्तै ट्विटर र फेसबुकको सेयर बजारमा गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्