महामारीबाट बेरोजगार भएका ६ लाख युवालाई रोजगारी दिन २० अर्ब बजेट

काठमाडौं। सरकारले कोभिड-१९ को महामारीका कारण बेरोजगार भएका युवाहरूलाई रोजगारी दिलाउन २० अर्ब रूपैयाँ विनियोजन गरेको छ।

उक्त रकम महामारीका कारण बेरोजगार भएका ६ लाख युवालाई तत्काल रोजगारी दिनलाई खर्च गरिनेछ।

त्यसका लागि चालु वर्ष ५ अर्ब बजेट छुट्टयाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड रुपैयाँ पुर्‍याइएको छ।

यसबाट थप दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ।

सरकारले ‘आफ्नो गाउँ, आफै बनाउँ’ भन्ने नारालाई अगाडी बढाउँदै बेरोजगार युवालाई गाउँमै रोजगारी दिने योजना ल्याएको छ।

त्यसका लागि महामारीका कारण रोजगारी गुमाएका युवलाई हस्तकला, प्लम्बर, कालिगढ, बिजुली मर्मत, सिलाई कटाइ, सिकर्मी, डकर्मी, ब्युटिसियन, कपाल कटाइ लगायतका सीप दिइनेछ।

यस्ता सीप विकास गरेर ५० हजारलाई रोजगारी दिन एक अर्ब रुपैयाँ बजेटमा विनियोजन भएको छ।

स्थानीय तहमा रोजगार सेवा केन्द्रलाई श्रम सूचना केन्द्रको रुपमा विकास गरेर निजी क्षेत्रका उत्पादनमूलक उद्योगलाई आवश्यक परे अनुसारको सीप दिइनेछ।

त्यसरी सिप दिइएका युवालाई कम्तिमा दुई वर्ष रोजगारीको ग्यारेन्टी गराइने छ। यसका लागि एक अर्ब बजेट विनियोजन गरेर ५० हजारलाई रोजगारी दिइनेछ।

प्राविधिक तथा व्यावसायिक तालिममा छुट्टयाइएको चार अर्ब ३४ करोड बजेटमार्फत ७५ हजारलाई तालिम दिने र रोजगारी दिने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्