शिक्षामा १ खर्ब ७१ अर्ब बजेट

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत वर्षभन्दा ८ अर्ब ७१ करोड बढी बजेट विनियोजन गरेका छन्।

अर्थमन्त्री खतिवडाले शिक्षा मन्त्रालयलाई १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेका छन्।

कोभिड-१९ महामारीका बेला शिक्षा उच्च प्राथमिकतामा राख्दै सरकारले विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो।

आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने अर्थमन्त्री खतिवताले बजेटभाषणमार्फत बताए।

मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउनेछ। त्यस्तै आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना रहेको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट विनियोजित गरिएको छ।

त्यस्तै विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड विनियोजित गरिएको छ।

त्यस्तै राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम विस्तार गर्नका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजित गरिएको छ।

कोरोना महामारीका कारण विद्यालय सञ्चालनमा समस्या भइरहेका बेला सरकारले भर्चुअल कक्षा सञ्चालनमा जोडमा जोड दिएको छ।

भर्चुअल, अनलाइन, रेडियो, टेलिभिजनमार्फत सिकाइ गर्नेगरी विद्यालयहरु सञ्चालन गरिनेछ। लकडाउनमा बन्द रहेका शिक्षणसंस्था दूर शिक्षा लगायतको विकल्पका आधारमा शुरू गरिने भएको हो।

एक हजार ८०० विद्यालय स्थापन गर्नका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिएको छ।

माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने सरकारको योजना रहेको छ। त्यस्तै माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने भएको छ।

६ हजार स्वयंमसेवक परिचालनका लागि २ अर्ब २३ करोड बजेट विनियोजन गरिएको छ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम शुरू गर्न एक अर्ब २५ करोड बजेट विनियोजित गरिएको छ।

दृष्टिविहीन विद्यार्थीलाई निःशुल्क सेतो छडी र ब्रेललिपिका पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ।

शिक्षाको गुणस्तर सुधारलाई बजेटमा प्राथमिकतामा राखेको जनाउँदै अर्थमन्त्री खतिवडाले दृष्टिवीहिन बालबालिकाको शिक्षालाई सहज बनाउन सेतो छडी र ब्रेललिपीका पाठ्यपुस्तक निशुल्क उपलब्ध गराइने जानकारी दिए।

यस्तै, शैक्षिक बेरोजगारलाई सहकारी मार्फत् कर्जा उपलब्ध गराएर आत्मनिर्भर गराइने सरकारको योजना छ।

यस्तै, पर्यटन विश्वविद्यालयको स्थापनाका लागि संभाव्यता अध्ययन र माध्यमिक तह भन्दामाथि पर्यटन सम्बन्धी पाठ्यक्रम तयार पारिनेछ।

आगामी वर्ष ७५ हजार युवालाई सीपयुक्त तालिम प्रदान गगरिनेछ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिइभिटि) मार्फत् ७५ हजार व्यक्तिलाई सीपयुक्त तालिम प्रदान गर्न ४ अर्ब ३४ करोड विनियोजन गरिएको छ।

यस कार्यक्रमबाट बजारमा प्रवेश गर्ने नयाँ श्रमिक, कोरोनाका कारण रोजगारी गुमाएका असंगठित क्षेत्रका श्रमिक र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले रोजगारी प्राप्त गर्ने सरकारले लक्ष्य लिएको छ।

कृषि पढेका तथा अन्य व्यवसायिक शिक्षा लिएका विद्यार्थीलाई पढाइसँगै आयआर्जनको व्यवस्था मिलाइन अर्थमन्त्री खतिवडाले जानकारी दिए।

आर्थिक वर्ष २०७६/७७ मा शिक्षा क्षेत्रका लागि कुल बजेटको १०.६३ प्रतिशत बजेट बिनियोजन गरिएको थियो। शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब बजेट छुट्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्