महाकाली नदीमा निर्माणाधीन पुलका लागि ८८ करोड

काठमाडौं। महाकाली नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पुलका लागि ८८ करोड बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् महाकाली नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पुल सम्पन्न गर्नका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

भीमदत्त नगरपालिका र महाकालीपारि दोधारा चाँदनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैंकको साढे चार अर्बको सहुलियत ऋण लगानीमा पूल निर्माण भइरहेको छ।

७ भदौ २०७४ मा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। यसै वर्षको २२ भदौमा सक्ने गरी ठेक्का सम्झौता गरिएको पुल आर्थिक वर्ष २०७७/०७८ मा सक्ने लक्ष्य लिइएको छ।

८०० मिटर लम्बाइको चार लेन पुल निर्माण भए महाकालीपारिको दोधारा-चाँदनीलाई जोड्नेछ भने पश्चिमी क्षेत्रमा नेपाल-भारतको मुख्य नाकाका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

पुल निर्माण भएपछि भारतीय औद्योगिक क्षेत्रसँग सहकार्य बढ्ने र व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्