महराकाे तिहार पनि हिरासतमै, अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिन

काठमाडाैं। संसद सचिवालयमा कार्यरत् एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

म्याद थपका लागि आज तेस्रो पटक अदालतमा पुर्‍याइएका महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

दिउँसो साढे ३ मा अदालत पुर्‍याइएका महराका तर्फबाट बहस गरेका वकीलहरूले जमानतमा रिहा गर्नुपर्ने माग गरेका थिए।

जिल्ला सरकारी वकीलले भने महराको डीएनएन परीक्षणको रिपोर्ट, उनको कल डिटेललगायतको अनुसन्धान अझै बाँकी रहेकाले सात दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न म्याद कायम हुनुपर्ने बताएका थिए।

जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा करीब दुई घण्टा राखेपछि महरालाई काठमाडौं जिल्ला अदालत पुर्‍याइएको थियो।

अदालतले यसअघि दुईपटक थपेको म्याद सकिएको छ।

१९ असोज बेलुका बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन्।

२३ असोजदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक थप भएको ५ दिनको म्याद हिजो सकिएको थियो।

प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान रहेको छ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। तर, उनले सांसद पदबाट भने अहिलेसम्म राजीनामा दिइसकेका छैनन्।

सात दिनको म्याद थपसँगै महरा अब १३ कात्तिकसम्म प्रहरी हिरासतमा नै रहनेछन्।

प्रहरीले अब १४ कात्तिकमा अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिसक्नु पर्नेछ।

त्यसपछि सरकारी वकील कार्यालयले अदालतमा मुद्दाको अभियोग पत्र दायर गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्