त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी

काठमाडाैं। विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन्।

एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो।

अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै ६ कात्तिकमा समेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए।

नेविसङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाएपछि आन्दोलन गर्नुपरेको बताए।

त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको थियो।

त्रिविमा नयाँ पदाधिकारी नियुक्तिमा प्राध्यापकले समेत असन्तुष्टि व्यक्त गर्दैआएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्