भोलिको संसद् बैठकमा संविधान संशोधनको विधेयक पेश हुने

काठमाडौं। भोलि, १८ जेठमा बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको विधेयक पेश गरिने भएकाे छ।

संघीय संसद सचिवालयले भोलि बस्ने प्रतिनिनिधि सभा बैठकको कार्यसूची निकालेको छ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने कार्यसूची छ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीअनुसार विधेयक पेश गर्ने अनुमति माग्ने प्रस्ताव पेश गर्ने र विधेयक पेश हुनेछ।

यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम थियो। तर, अन्तिम समयमा आएर रोकिएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेपछि विधेयक रोकिएको थियो।

त्यस्तै भोलिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ काे राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने समेत कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्