क्वारेन्टाइनको व्यवस्थापनमा सहयोग गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं। सांसदहरूले स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनहरूको व्यवस्थापनका लागि संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समायमा बोल्दै उनीहरूले क्वारेन्टाइन व्यवस्थापनको आर्थिक सहायताको माग गरेका हुन्। सांसद लालबाबु पण्डितले अव्यवस्थित क्वारेन्टाइनका कारण जोखिम बढेकोले आर्थिक सहयोग गर्न सरकारसँग माग गरे।

स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका छन्।

सांसदहरूले पाँचजनाको हत्या र एकजना बेपत्ता हुने गरी भएको रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न पनि माग गरेका छन्।

त्यस्तै खेती लगाउने समयमा किसानलाई बीउ, मल र औषधिको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइएको छ।

सांसद लालबाबु पण्डितले कोरोनाबाट ज्यान गुमाउने भन्दा दशौं गुणा बढी आत्महत्या गर्नेको संख्या रहेकोप्रति ध्यानाकर्षण गराए।

सांसद शशी श्रेष्ठले लकडाउनका कारण जनजीवन कष्टकर बनेको भन्दै कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गरी लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताइन्।

मापदण्ड अनुसार निश्चित दूरी कायम गरी आवतजावतलाई खुकुलो बनाई दैनिक जीवन सहज र व्यवस्थित बनाउन उनको आग्रह थियो।

सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको सवालमा पक्ष विपक्ष हुँदैन भन्ने कुरा पुष्टि गर्दै संविधान संशोधनको पक्षमा कांग्रेसले गरेको निर्णयको स्वागत गरिन्।

सांसद विरोध खतिवडाले सीमा समस्याको सवालमा राष्ट्रिय एकता प्रदर्शन भएकोमा खुशी जनाए।

सांसद विनाकुमारी श्रेष्ठले रुकुम पश्चिम, रुपन्देही लगायत नेपालका विभिन्न ठाउँमा घटेका घटनाहरू दलित विरुद्ध मात्रै नभइ मानवता विरुद्धको अपराध भएको भन्दै दोषिलाई कारवाही गर्न माग गरिन्।

त्यस्तै शान्तिमाया तामाङ पाख्रिन, शान्ता चौधरीले पनि रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिनको माग गरे।

सांसद सत्यनारायण शर्मा खनालले कोरोना संक्रमित बढिरहँदा नेपालमा आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था हुन नसकेको टिप्पणी गरे। सीमामा आएका हजारौं नेपालीलाई स्वास्थ्य परीक्षणबिनै भित्र्याइरहेको भन्दै उनले आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्