महाराष्ट्रमा भाजपा गठबन्धनको सरकार बन्ने निश्चित, हरियाणामा गठबन्धन सरकार

काठमाडौं। भारत महाराष्ट्रमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र शिवसेना दलको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले बहुमत प्राप्त गरेको छ।

महाराष्ट्र विधानसभाको कुल २८८ सीटमा २१ अक्टुबरमा भएको निर्वाचनमा हालसम्म भाजपाले १०५ स्थानमा विजय हाँसिल गरेको छ। शिवसेनाले ५६ सीट जितेको छ।

नतिजासँगै गठबन्धनका देवेन्द्र फादनावीस पुनः महाराष्ट्रको मुख्यमन्त्री बन्ने अनुमान भारतीय सञ्चारमाध्यमले गर्न थालेका छन्।

सन् २०१४ को विधानसभा निर्वाचनपछि महाराष्ट्रको मुख्यमन्त्री भएका फादनावीस भाजपा नेता हुन्।

भाजपा नेतृत्वको गठबन्धले विधानसभाको निर्वाचनमा ल्याएको मत परिणाम भने लोकसभा निर्वाचनको भन्दा कम रहेको बताइएको छ।

यसै वर्ष मे महिनामा सार्वजनिक भएको भारतको लोकसभाको निर्वाचनको नतिजामा भाजपा नेतृत्वको गठबन्धले महाराष्ट्रमा २२४ सीटमा विजय हाँसिल गरेको थियो।

अहिलेसम्म सार्वजनिक नतिजा अनुसार भाजपा गठबन्धनले महाराष्ट्र विधानसभाको निर्वाचनमा १५७ सीटमा मात्रै विजय हाँसिल गरेको छ।

गठबन्धनले करीब २४० सीटमा विजय हुने दाबी गरेको थियो। यस्तै कांग्रेस पार्टी र उसको गठबन्धन १०२ सीटमा विजय हाँसिल गरेको छ।

यस्तै २१ अक्टुबरमै भएको हरियाणाको विधानसभा निर्वाचनमा भाजपा ४० सीटमा विजयी भएको छ। कुल ९० सीटको विधानसभाको निर्वाचनमा ४० सीटमा विजयी भएको भाजपाले गठबन्धन सरकार बनाउन प्रयास गर्ने भएको छ।

सन् २०१४ मा हरियाणामा भएको विधानसभा निर्वाचनमा भाजपा ४७ सीटमा विजयी हुँदै बहुमतको सरकार गठन गरेको थियो। हरियाणामा भाजपाले ७५ सीट ल्याउने प्रारम्भिक दाबी गरे पनि ४० सीटमा खुम्चिएको हो।

हरियाणाको विधानसभाको निर्वाचनमा भारतीय कांग्रेसले राम्रो प्रदर्शन गर्न नसके पनि सन् २०१४ को विधानसभाको निर्वाचनको तुलनामा केही सुधारीएको प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ।

कांग्रेसले ३१ सीटमा विजय हाँसिल गरेको छ भने अन्य पार्टीले १९ सीट ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्