धनगढी उपमहानगरपालिकाको आफ्नै प्राविधिक शिक्षालय

कैलाली। धनगढी उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारी थालेको छ।

प्राविधिक शिक्षा सञ्चालन गर्ने स्वीकृति पाएसँगै यसै शैक्षिक शत्रबाट पठनपाठनको तयारी थालिएको उपमहानगरपालिकाले जनाएको छ।

आफ्नै प्राविधिक शिक्षालय सञ्चालन गर्ने धनगढी उप–महानगरपालिका उपत्यका बाहिरको पहिलो स्थानीय तह हो। यसअघि भक्तपुरले ख्वपः इन्जिनियरिङ कलेज सञ्चालनमा ल्याएको थियो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँगको साझेदारीमा उप–महानगरपालिकाले ‘धनगढी पोलिटेक्निकल इन्स्टिच्यूट’ प्राविधिक शिक्षालय सञ्चालन गरेकाे मेयर नृपबहादुर वडले जानकारी दिए।

उनले कम शुल्कमा विद्यार्थीहरूलाई पठनपाठनको व्यवस्था मिलाइएको जानकारी दिए।

विद्यार्थीले एक लाख ९० हजार रुपैयाँमा डिप्लोमा तहसम्मको पढाइ पूरा गर्न सक्ने वडको भनाइ छ। पहिलो चरणमा डिप्लोमा तहमा होटल व्यवस्थापन र अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने उनले जानकारी दिए।

होटल व्यवस्थापनतर्फ ४० र अटोमोबाइल इन्जिनियरिङतर्फ ४८ कोटा छ। नगर प्रमुख वडका अनुसार अटोमोबाइल इन्जिनियरिङ धनगढी उपमहानगरपालिकाको १९ वटै वडाको लागि एक–एकवटा कोटा निर्धारण गरिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका लागि एक–एकवटा कोटा निर्धारण गरिएको छ। खुलातर्फ १९ जनाको कोटा छ भने एक कोटा नगरपालिकाको छ।

होटल व्यवस्थापनतर्फ पनि अटोमोबाइल इन्जिनियरिङ जस्तै कोटा निर्धारण गरिएको भए पनि ४० मात्रै कोटा भएकाले खु्लातर्फ ११ जनाको कोटा निर्धारण गरिएको मेयर वडले जानकारी दिए।

सीटीईभीटी सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी प्रमुख डा. कुष्माकर भट्टले धनगढी उप–महानगरपालिकाले प्राविधिक शिक्षामा समेत उदाहरणीय काम गरेको बताउँछन्। भक्तपुरबाहेक यस्तो ढाँचामा प्राविधिक शिक्षालय खोल्ने धनगढी नै पहिलो रहेको बताए।

विद्यार्थी भर्ना आवेदन खुला भइसकेको बताउँदै धनगढी उप–महानगरपालिका शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले सीटीईभीटीको प्रवेश परीक्षा उत्तीर्ण गरेकाले स्वतः भर्ना पाउने भए पनि नयाँले पुनः भर्ना परीक्षामा सहभागी हुनुपर्ने बताए।

आवेदन भर्ने समय १७ कात्तिकसम्म रहेको उनले बताए। उनका अनुसार शनिबार र बिदाको समयमा पनि आवेदन बुझाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्