जासुसीको आरोपमा भारतले गर्यो पाकिस्तानी अधिकारीलाई देश निकाला

नयाँदिल्ली। भारतले पाकिस्तानका दुई कूटनीतिक अधिकारीलाई जासुसी गरेको आरोपमा ‘पर्सना नन ग्राटा’ अर्थात् देश छाडेर जाने आदेश दिएको छ।

उनीहरूलाई २४ घण्टाभित्र भारत छाडेर जाने आदेश जारी गरिएको हो। दुवैजना नयाँदिल्लीस्थित पाकिस्तानी उच्चायुक्तको कार्यालयमा कार्यरत छन्।

“उनीहरू हिजो गैरकानूनी क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका थिए,” भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “त्यस्तो गतिविधि कूटनीतिक मर्यादाविपरीत हो।”

पाकिस्तानको विदेश मन्त्रालयले भने भारतीय विदेश मन्त्रालयको निर्णयमाथि आपत्ति जनाएको छ। उनीहरूमाथि स्थापित हुन नसक्ने झुटो आरोप भारतले लगाएको पाकिस्तानी विदेश मन्त्रालयको भनाइ छ।

“झुटो आरोप लगाउँदै आफ्ना कूटनीतिक कर्मचारीलाई नियन्त्रणमा लिएर यातना दिएकामा पाकिस्तान सरकार खेद व्यक्त गर्छ,” पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

त्यसको विरोधमा पाकिस्तानले इस्लामावादस्थित भारतीय कूटनीतिज्ञलाई बोलाएर आपत्ति प्रकट गरेको छ। इस्लामावादस्थित भारतीय उच्चायुक्तको कार्यालयका कूटनीतिक अधिकारीलाई पनि देश निकाला गर्ने पाकिस्तानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्