प्रतिनिधिसभामा सीमा विवाद र रुकुम घटना छानविन माग

काठमाडौं। प्रतिनिधिसभाको शून्य समयमा आज सांसदहरूले सीमा विवादको समाधान र रुकुम घटनाको छानविन माग गरेका छन्।

सांसद अतहर कमाल मुसलमानले लिम्यिाधुरा, लिपुलेक र कालापानीसमेतको नक्सा जारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व पनि ग्रहण गर्नुपर्ने बताए। दार्चुला-तिंकर सडकको ८७ किलोमिटर ट्रयाक खोल्ने काम अझै हुन नसकेको उनले औंल्याए।

सांसद गंगा चौधरी सतगैंयाले अनुदानसँग जमिन, स्वाभिमान र राष्‍ट्रियता साट्न नसकिने बताइन्।

सांसद घनश्याम खतिवडाले कूटनीतिक वार्ताबाट समस्या सुल्झाउन भारत तयार हुनुपर्ने बताए।

सांसद चन्दा चौधरीले रुकुम घटनाको विषयमा गृह मन्त्रालय मौन रहेको आरोप लगाइन्।

सांसद अभिषेकप्रताप साहले चीनले २० मेमा सगरमाथाको उचाइ नाप्‍न नेपालको समन्वयमा टोली पठाएको हो कि होइन भनी प्रश्‍न गरे।

सांसद अमरेशकुमार सिंहले विपद व्यवस्थापनको काम गृह मन्त्रालयले कार्यान्वयन गर्ने ऐनले निर्धारण गर्ने भए पनि सरकारले सेना परिचालन गरेकोप्रति असन्तुष्‍टि व्यक्त गरे।

सांसद अमृता थापाले सरकारले विदेशबाट नेपाली नागरिक ल्याउन गरेको निर्णयको स्वागत गरिन्।

सांसद उमाकान्त चौधरीले तराई क्षेत्रमा निर्माण भएका क्‍वारेन्टाइनहरू विश्‍व स्वास्थ्य संगठनको मापदण्डविपरीत रहेको उल्लेख गर्दै सोही कारण संक्रमणको दर बढेको औंल्याए।

सांसद उमा रेग्मीले सुत्केरी तथा डायलिसिस र केमोथेरापी गर्न गएका बिरामीलाई पीसीआर रिपोर्ट ल्याउन भन्दै फर्काउने अस्पतालहरूमाथि कारवाही गर्न माग गरिन्।

सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्‍न पाउने, मर्यादित जीवन जिउन पाउने, छुवाछुत र भेदभावविरुद्धको हक र दलितको हक स्पष्‍ट उल्लेख गरे पनि रुकुम घटनाले लज्जित बनाएको बताए।

सांसद गौरीशंकर चौधरीले लकडाउनको समयमा आत्महत्याका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस्