जोखिममा इट्टाभट्टाका मजदुर, उपचार खर्च पनि आफैँ व्यहोर्छन्

काठमाडौं। इट्टाभट्टा अर्थात् धुलो र धुँवा। प्रदुषण त पक्कै हुन्छ। र त्यसले स्वास्थ्यमा पार्ने जोखिम पनि त्यत्तिकै। तर के यो जोखिमबारे त्यहाँ काम गर्ने मजदुर सचेत छन् त ?

आज सार्वजनिक एक प्रतिवेदन भन्छ, एक सयमा ७५ जना मजदूरलाई आफुले काम गर्ने ठाउँकै कारण लाग्न सक्ने दीर्घ रोगबारे थाहा छैन।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले यस्तो तथ्य सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यकाका इँटा भट्टामा गरेको रेस्फेकले अध्ययन गरेको थियो ।

प्रतिवेदनले बताए अनुसार सयमा ७५ मजदुलाई रोगबारे थाहा नहुनेमात्र होइन त्यत्तिकै मात्रामा जोखिममा पनि छन्।

प्रतिवेदन अनुसार सयमा ११ मजदूरमा दम, खोकी र निमोनिया लाग्ने गरेको पाइएको छ।

अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदुरको स्वास्थ्य स्थिति भयावह रहेको र उनीहरूलाई घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको बताए।

त्यतिमात्र होइन मजदुरहरूले कामकै कारण स्वास्थ्य बिग्रँदा पनि उपचार खर्च आफै व्यहोर्छन्।

“६९ दशमलव ५ प्रतिशत मजदुरले कामकै कारण स्वास्थ्य बिग्रिएमा उपचार खर्च आफैले व्यहोर्दै आएका छन्,” दुवालले भने, “दुर्घटना भएको अवस्थामा पनि रोजगारदाताले केही अंश मात्र व्यहोर्ने गरेका छन्।”

मजदुरमात्र होइन उनीहरूले पाउने सुविधाबारे उद्यमी पनि जानकार नभएको प्रतिवेदनले जनाएको छ।

अध्ययनमा सहभागी ३२ दशमलव ५ प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै नभएको र ७ दशमलव ५ प्रतिशतले यससम्वन्धमा सुन्दै नसुनेको पाएको दुवालले बताए।

“मजदुरको वासस्थान ४ फिटभन्दा अग्लो नभएको र भुइँको चिसोमा सुत्न वाध्य भएको देखिएको छ। शौचालय पनि अव्यवस्थित र खानेपानी पनि स्वस्थकर नभएको पाइएको छ”, उनले भने।

आज आयोजित व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्वन्धी कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो।

कार्यक्रममा नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव केपी अवालले सरकारको नीति नियम एकातिर र वस्तुस्थिति अर्कै हुँदा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न समस्या भइरहेको बताए।उनले ५ वटै प्रदेशमा इँटा प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोजीजूले व्यवसायजन्य दुर्घटनामा वर्षेनी २ सयभन्दा वढीको मृत्यु हुने गरेको बताए।

उनले ती मृत्युको विभाग वा मन्त्रालयमा कुनै रिपोर्ट नै नआउने गरेको प्रष्ट्याए।

उद्योग प्रतिष्ठानले श्रम अडिट र व्यवसायजन्य स्वास्थ्यमा वर्षेनी अडिट गरेको खण्डमा मजदुरको स्वास्थ्य र जीवन सुरक्षित हुने उनले बताए।

“उद्योग प्रतिष्ठानमा दुर्घटना भई मजदुर अशक्त भएमा वा व्यवसायजन्य रोग लागेमा उनले खाइपाइ आएको ६० प्रतिशत बराबरको मासिक पेन्सन दिनु पर्ने प्रावधान छ,” उनले भने, “त्यसैले यो अवस्था आउनै नदिनका लागि उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनुपर्छ।”

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकारका लागि रेस्फेकले काम गर्दै आएको र मजदुरहरूको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन वढ्ने बताए। उनले अध्ययन प्रतिवेदनका आधारमा इँटा भट्टामा सचेतनामुलक तालिम चलाइने पनि जानकारी उनले दिए।

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले कुनै कार्यथलोमा काम गर्दा श्रमिकको स्वास्थ्यमा पर्ने शारीरिक, मानसिक वा जोखिमयूक्त असुरक्षित वातावरणलाई घटाउनुपर्नेमा जोड दिए।

नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव योगेन्द्र कुँवरले कुनै पेशामा संलग्न भएकै कारण काम वा पेशाको प्रकृति अनुसारको लाग्ने रोगबाट जोगाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

जनस्वास्थ्य अभियन्ता प्रा.डा. शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्वन्धमा नेपालमा खासै अध्ययन नभएको र रेस्फेकले गरेको अध्ययन नीति निर्मातादेखि मजदुरसम्मका लागि उत्तिकै महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस्