कोभिड-१९ परीक्षण किट अभाव हुन नदिन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विभिन्न प्रदेशहरूमा कोभिड-१९ परीक्षण किटको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा बोल्ने सदस्यहरूले भारतबाट आउनेहरूलाई विना परीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभा सदस्य इन्दु कडरियाले भारतबाट फर्किनेहरूको कुनै परीक्षण नगरी गाउँ फर्किने क्रम बढेको बताइन्। लकडाउन बढ्दै जाँदा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले मोडालिटी परीवर्तन गरी आर्थिक गतिविधि अगाडी बढाउन उनको आग्रह थियो।

सदस्य कोमल वलीले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जान नसकेको टिप्पणी गरिन्। प्रदेश ५ मा संक्रमणको दर उच्च रहेपनि परीक्षण किटको अभाव रहेकोप्रति उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन्।

सदस्य उदया शर्मा पौडेलले कोरोना संक्रमणको जोखिम मोलेर पनि निरन्तर सेवामा खटिएको संसद सचिवालयका कर्मचारी लगायत अन्य कर्मचारीहरूलाई प्रोत्साहनको व्यवस्था गरी मनोबल उच्च बनाउन माग गरिन्।

सांसद तारादेवी भट्टले सुदूरपश्चिममा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नहुँदा संक्रमण बढिरहेको भन्दै समस्या समाधानको लागि तत्काल पहल गर्न माग गरिन्।

प्रतिक्रिया दिनुहोस्