द्वन्द्वकालमा बेवारिसे छाडिएका खोजेर बम डिस्पोज गराउन सांसदहरूको माग

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सशस्त्र द्वन्दकालमा राखिएका बमहरू खोजेर डिस्पोजल गर्न सांसदले ध्यानाकर्षण गराएका छन्।

सांसद अनिता देवकोटाले १८ वैशाखमा रोल्पामा बेवारिसे बम विस्फोटबाट चार बालबालिकाको निधन भएको स्मरण गराइन्।

तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरूबाट जनता त्रसित भएको बताउँदै उनले तत्काल खोजी थाल्न आग्रह गरिन्।

‘‘लुकाइछिपाइ राखेका हातहतियार अहिले पनि पड्किने र जनता त्रसित हुने क्रम अहिलेसम्म रोकिएको छैन। अहिले माओवादी सरकारमा छ। र, सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता अहिले गृहमन्त्री हुनुहुन्छ,” उनले भनिन्, “तसर्थ ज्ञान र जानकारीका आधारमा कुन कुन ठाउँमा बमहरू लुकाइएको छ भन्‍ने खोजी गरी डिस्पोज गर्न आग्रह गर्छु।’’

सांसद दिलकुमारी थापा रावलले लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवतीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

सुत्केरी र गर्भवतीको क्‍वारेन्टाइनमै मृत्यु भएको विषयमा सरकारले सत्यतथ्य सदनमा जानकारी गराउनुपर्ने माग उनले गरिन्।

सांसद विमला राई पौडेलले विगतमा चेतना अभावमा गर्भवती र सुत्केरीको ज्यान जाने गरेकामा अहिले उपचार अभावमा मृत्यु हुने गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्