बैतडीमा डोजरले हानेर घाइते महिलालाई उपचारका लागि भारत लगियो

बैतडी। बैतडीमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ।

बैतडीको दशरथचन्द नगरपलिकामा(९ ग्वाल्लेकमा ४ कात्तिकमा सडक निर्माणको क्रममा विवाद हुँदा सडक खनिरहेको डोजरको आक्रमणबाट ९ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर गौरीको यसअघि धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए।

नेपालगञ्जमा उपचार गरी घर लैजाँदै गर्दा गौरीलाई बाटोमै असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो।

जगदिशका दाजु बिसनदत्त जोशीले भारतमा उपचारका लागि खर्च जुटाउन आफू घर फर्किएको बताए।

“उपचार गराउन खर्च अभाव भएको छ, मजदुरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उनले भने।

नेकपाको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले ग्वाल्लेकमा भएको डोजर प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाले स्थानीयवासीबीच विवाद हुँदा घटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।

नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले आज विज्ञप्ति जारी गर्दै दशरथचन्द नगरपालिकाले नै सुणन्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, नगरप्रमुख आफैँले सडकको उद्घाटन गरेको र दुई सडक निर्माणका लागि नगरपालिकाले आश्वासन दिएको बताए।

नेपाली कांग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाई अर्को सडक खन्न लगाउँदा विवाद भएको पालको आरोप छ।

नेकपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

कांग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले भने पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको जनाएको छ।

बिना सम्झौता सडक खनियोः नगरपालिका

दशरथचन्द नगरपालिकाले उक्त सडक खन्न आर्थिक वर्ष २०७४/७५ मा चार लाख रुपैयाँ विनियोजन गरिएको र सो रकम बराबरको काम सम्पन्न भइसकेको जनाएको छ।

हाल सो सडकका लागि बजेट विनियोजन नभएको र डिजाइन स्टमेट पनि नबनाएको नगरपालिकाले जनाएको छ।

“योजना निर्माणका लागि नगरपालिकासँग सम्झौता भएको छैन”, नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्