छुवाछूत सम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई कारवाही गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन्।

छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री ओलीले जघन्य घटनाका अपराधीलाई कारवाही गर्नेमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।

उनले जातीय छुवाछूत, विभेद वा छुवाछूतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या रहेको भन्दै जातीय छुवाछूतका पीडितको मानव अधिकार संरक्षण गर्न, हिंसा अन्त्य गर्न सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गरे।

“छुवाछूत तथा भेदभाव अन्त्य गर्न म तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, मिडिया र आम नागरिकलाई आह्वान गर्दछु”, प्रधानमन्त्रीले भनेका छन्।

प्रधानमन्त्री ओलीले सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली' को संकल्पको बाटोमा पुग्न भेदभावरहित सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्