कर तिर्ने समय असार मसान्त पुर्याउन उद्योग वाणिज्य महासंघको माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने समय असार मसान्तसम्म कायम गर्न माग गरेको छ।

महासंघले आयकर, मूल्य अभिवृद्धि कर र अन्त:शूल्कको विवरण तथा कर रकम बुझाउने म्याद बढाएर असार मसान्तसम्म पुर्‍याउन सरकारसँग माग गरेको हो।

आन्तरिक राजश्‍व विभागले २० जेठमा सूचना निकाल्दै २५ जेठभित्र कर तिरिसक्न निर्देशन दिएपछि व्यवसायीहरूले उक्त समयमा तिर्न नसक्ने बताउँदै आएका छन्।

महासंघका महानिर्देशक धरणीधर खतिवडाले अर्थमन्त्रालयलाई पत्र बुझाउँदै कर तिर्ने समय असार मसान्तसम्म पुर्‍याउन माग गरेका हुन्।

अर्थमन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ, “लकडाउनका कारण आर्थिक कारोबार, उत्पादन, वितरण लगायत आपूर्ति प्रणाली अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ।” सोहीकारण, अहिले कर विवरण र कर रकम बुझाउन नसकिने महासंघले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्