मकै खेतीमा फौजी कीराको आक्रमण, वर्षेनि बढिरहेको उत्पादन ओरालो लाग्न सक्छ

काठमाडौं। खेतीबालीमा अमेरिकी फौजी कीराको आक्रमण बढ्दै गएपछि मकैको उत्पादन घट्ने सम्भावना देखिएको छ।

गत वर्षदेखि नेपाल भित्रिएको फौजी कीरा यतिबेला ४३ जिल्लामा पुगिसकेको छ। अघिल्ला वर्षदेखि नै नेपाल भित्रिएको भए पनि फौजी कीरा नेपाल आएको गत वर्ष मात्रै पुष्‍टि भएको थियो।

तराई, पहाड र हिमाली जिल्लाहरूमा यसको प्रकोप शुरु भइसकेको अवस्थामा आगामी वर्ष नेपालमा मकैको उत्पादन नै घट्न सक्ने देखिएको हो।

“४३ जिल्लाभन्दा बढीमा फौजी कीराको आतंक शुरु भइसकेको छ। आगामी दिनमा थप जिल्लामा यो कीरा पुग्‍ने छ,” कृषि विभागका प्रवक्ता महादेवप्रसाद पौडेलले भने।

थप जिल्लाहरूमा यसको प्रकोप बढ्दै जाँदा ती जिल्लामा लगाइएको मकैको बीउ र बोटमा हुने क्षतीसमेत बढ्दै जाने छ।

तराईका जिल्ला हुँदै पहाड चढेका फौजी कीराको लार्भा धेरै खन्चुवा हुने भएकाले मकैको बिरुवा र बोट नै नष्‍ट गर्दिन्छ।

कृषिविद् कृष्‍ण पौडेलले खन्चुवा भएकै कारणले यसका लार्भाले मकैको पात, गुभो, जुँगा र घोगामा समेत असर पुर्‍याउने बताए।

बिरुवा उम्रिएदेखि आक्रमण गर्ने फौजी कीराले घोगा लागेको बोटसम्मलाई खाने गर्छ। यहीकारण, आगामी वर्ष ठूलो मात्रामा मकैको उत्पादन घट्ने आकलन गरिएको छ।

तर, फौजी कीराकै आक्रमणका कारण कति परिमाणमा मकैको उत्पादन घट्छ भन्‍ने प्रक्षेपण भइसकेको छैन। कृषि विभागले सबै स्थानीय र प्रदेश सरकारसँग क्षतीको विवरण मागेको छ।

“विवरण आउन कम्तिमा दुई साता लाग्छ। त्यसपछि अध्ययन गरेर क्षतीको विवरण निकाल्छौं,” विभागका प्रवक्ता पौडेलले भने।

उत्पादन ओरालो लाग्‍ने

पछिल्लो समय नेपालमा मकैको उत्पादन बढ्दै गएको थियो। विदेशबाट ल्याइएको हाइब्रिड बीउ र खेती प्रणालीमा आएको सुधारका कारण मकैको उत्पादनमा उल्लेख्य सुधार आएको थियो।

कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-०७६ मा नेपालमा २६ लाख ४४ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो।

त्यस वर्ष कुल नौ लाख ४२ हजार हेक्टरमा मकै लगाइएको थियो।

यस्तै, आर्थिक वर्ष २०७४-०७५ मा नौ लाख ५४ हजार हेक्टरमा २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, आर्थिक वर्ष २०७३-०७४ मा २३ लाख र २०७२-०७३ मा २२ लाख ३१ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो।

यसबाट नेपालमा पछिल्लो चार वर्षको अन्तरालमा कमैको उत्पादन उल्लेख्य रूपमा बढेको देखिन्छ।

चार वर्षको अन्तरालमै नेपालको मकै उत्पादन क्षमता २२ लाख मेट्रिक टनबाट बढेर २६ लाख मेट्रिक टन पुगेको छ।

पछिल्लो समय विदेशबाट ल्याइने हाइब्रिड बीउको कारण नै उत्पादन बढ्दै गएको कृषिविद् कृष्‍ण पौडेल बताउँछन्।

तर, त्यही विदेशी हाइब्रिड बीउ आयात गर्दा बीउसँगै विदेशी फौजी कीरा आयात भइसकेको छ।

यस्तै, अत्यधिक रासायनिक मलको प्रयोग गरेर फौजीजस्ता कीरालाई आफ्नो आहारा बनाउने अन्य कीरा र जन्तुको विनाश गर्दा जोखिम थप बढेको पौडेलले बताए।

चालू आर्थिक वर्षको १० महीनामा नेपालले १२ अर्ब रुपैयाँभन्दा बढीको मकै र मकैको बीउ आयात गरेको छ। मकैको बिरुवा र बोटमा फौजीको आतंक बढ्दै जाँदा मकैको उत्पादन घटेमा आयात थप बढ्ने सम्भावना छ। आयातीत मकै पशुपक्षीको दाना बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ।

प्रतिक्रिया दिनुहोस्