नागरिक उड्डयन प्राधिकरणले रोक्यो चार्टर उडान

काठमाडौं। केही ट्राभल एण्ड टुर्स कम्पनीहरूले मनलाग्दी भाडा उठाएर अन्तर्राष्ट्रिय उडान चार्टर गर्न थालेपछि नेपाल नागरिक उड्‍डयन प्राधिकरणले चार्टर उडानमा रोक लगाएको छ।

प्राधिकरणले सूचना प्रकाशन गरेर कूटनीतिक नियोगले गरेको आग्रह बाहेक अन्य चार्टर उडान नगर्न र टिकट बुकिङ पनि बन्द गर्न भनेको छ।

प्राधिकरणका एअर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेल ट्राभल्स एजेन्सी र एअरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको बताए।

९ चैत यता ११० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। सरकारले स्वास्थ्य सामग्री ढुवानी र आपतकालीन उद्धारमा मात्रै चार्टर उडान गर्न दिने भने पछि पछिल्लो समय ट्राभल एजेन्सीहरू विमान चार्टर गरेर विदेशमा यात्रु लैजान थालेका थिए।

नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएकै समयमा ट्राभल एजेन्सीहरूले अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, जापान, हङकङलगयातका देशमा नेपालबाट यात्रु पठाएका थिए।

सामान्य अवस्थामा नेपालबाट अमेरिकाको हवाई भाडा ८० देखि ९० हजार हुने गरेपछि चार्टर उडान भनेर तीन लाखभन्दा बढी उठाइएका थियो। जापान लैजानको लागि एक लाख ५० हजारसम्म ट्राभल एजेन्सीले टिकटको मूल्य लिएका थिए।

यससँगै, प्राधिकरणले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि कोभिड-१९ विशेष सुरक्षा निर्देशिका कार्यान्वयन शुरू गरेको छ। अहिले कार्यान्वयनमा ल्याइएको सुरक्षा निर्देशिकालाई परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

रूघाखोकी, १००.४ डिग्री फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुनेलगायत समस्या भएका यात्रुले जहाजमा यात्रा गर्न पाउने छैनन्।

त्यसैगरी, ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्या रहेका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न प्राधिकरणले सुझाव दिएको छ।

उक्त निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड-१९ को स्वःघोषणा पत्रसमेत भर्नुपर्नेछ। त्यसमा यात्रुले कोभिड जाँच गरे/ नगरेको तथा स्वास्थ्य समस्या भए/नभएको विवरण उल्लेख भएका हुन्छन्। यात्रुले जस्तै विमानका कर्मचारीले पनि त्यस्तो स्वःघोषणा पत्र भर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्