संसदमा प्रधानमन्त्रीको जवाफ- 'नेपाली भूमीमा हक स्थापना गर्न कसैको देवत्वकरण गर्नुपर्दैन'

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गरी नेपाली भूमीमा नेपालको हक स्थापना गर्ने विषयमा संसदमा असाधारण एकता देखिएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्।

आज प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव एक मतले पारित गरेकोमा सांसदहरूलाई धन्यवाद दिएका छन्।

“हाम्रा पुर्खाले यो देश लडेर बनाएका हुन, लडेर बनाएका हुन। आज हामी अडे मात्रै हाम्रो भौगोलिक अखण्डता कायम गर्न सक्छौं। यसमा संसद एक देखिएको छ। यो धेरै सह्रानीय कुरा हो”, प्रधानमन्त्री ओलीले भने।

नेपालको भूमीमाथिको हक स्थापित गर्ने कुरा साझा प्रयास भएको भन्दै यसको जस कसले लिने भन्ने विषयमा विवाद गर्नु नपर्ने पनि ओलीले बताए।

“कसले जस लिने ? कसले श्रेय लिने ? कसको देवत्वकरण गर्ने विषय होइन। सिंगो नेपालीको साझा भावनाको प्रकटीकरण हो। लामो समयदेखि यो विषय उठेको छ। आफ्नै रुचीमा अध्ययनकर्ताहरुले तथ्यहरू खोजेका छन्। तथ्यहरू प्रकट गरेका छन्। यसमा कसैले जस पाउला की भन्ने चिन्ता गर्नुपर्दैन। कोही जसबाट छ्ट्ला की भन्ने चिन्ता लिनु पनि पर्दैन। हामी फराकिलो भावनाको साथ अगाडी बढिरहेका छौं”, उनले भने।

नेपाली भूमीमाथि हक स्थापना गर्ने प्रयास र संविधान संशोधनको प्रस्ताव सर्वदलीय, सर्वपक्षीय बैठक र बाहिरबाट आएका भावनाहरूबाट अगाडि बढेको प्रधानमन्त्री ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्