सपिङ मल नखोल्ने सरकारको निर्णय व्यवसायीले नमान्ने, भोलिदेखि सबै व्यापारिक कम्प्लेक्स खुल्ने

काठमाडौं। काठमाडौ उपत्यकामा रहेका सपिङ मलहरूले सरकारको निर्णय नमान्‍ने घोषणा गरेका छन्।

सरकारले लकडाउन खुकुलो पार्दै सबै पसल सञ्‍चालन गर्न पाउने भएपनि सपिङ मलहरू तत्काल नखुलाउने बताएको थियो।

२८ जेठको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका पसलहरू खोल्न दिने तर सपिङ मल तत्काल खोल्न नदिने निर्णय गरेको थियो।

सपिङ मल व्यवसायीहरूले सरकारको निर्णय चित्त नबुझेको बताउँदै १ असारदेखि सपिङ मलहरू पनि सञ्‍चालनमा ल्याउने निर्णय गरेका हुन्।

शुक्रबार काठमाडौंमा बसेको १२ वटा सपिङ मलका व्यवसायीहरूको संगठनको बैठकले सबै सपिङ मलहरू खुला गर्ने एकतर्फी निर्णय गरेको हो।

सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्‍न घिमिरेले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर मलहरू सञ्‍चालनमा ल्याउने बताए।

बैठकमा सिभिल मल व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, सिटी सेन्टर व्यापार संघ, ताम्राकार कम्प्लेक्स व्यापार संघ र सञ्‍चयकोष भवनको सहभागिता थियो।

त्यसैगरी, आइप्लेक्स कम्प्लेक्स, आरबी कम्प्लेक्स व्यापार संघ, केएल टावर व्यापार संघ, रञ्‍जना मल व्यापार संघ, लबिम मल, बिजी मल र विशाल बजार व्यापार संघको समेत सहभागिता थियो।

सुरक्षाका दृष्‍टिले पनि सपिङ मलहरू सुरक्षित रहेको व्यवसायीहरूको भनाइ छ।

लकडाउन लम्बिँदै जादा घरभाडा, बैंकको ब्याजदर तथा करसमेत तिर्न नसक्ने अवस्थामा पुगेकाले मलहरू सञ्‍चालन गर्ने निर्णय गरेको घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्