सात महीनामा १४ हिमाल आरोहण गरेर निर्मलले रचे कीर्तिमान

काठमाडौं। आरोही निर्मल पुर्जाले हिमाल आरोहणमा नयाँ कीर्तिमान रचेका छन्। सात महीनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर उनले कीर्तिमान कायम गरेका हुन्।

आज बिहान चीनको शीशापाङ्मा हिमाल आरोहण गरेर उनले नयाँ रेकर्ड कायम गरेका हुन्।

पुर्जाको ट्वीटर ह्यान्डलबाट आरोहण सफल भएको जनाइएको हो।

‘शीशापाङ्मा चुचुरोबाट पुर्जा भन्छन्- लक्ष्य पूरा भयो’ - ट्वीटमा भनिएको छ।

ट्वीटमा जनाइएअनुसार पुर्जा र उनको समूह नेपाली समय अनुसार ११ः१३ मा चुचुरोमा पुगेको हो। उनको समूहमा मिंग्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र गेस्मान तामाङ छन्।

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा सगरमाथा चढ्ने अठोट गरेर पुर्जाले आरोहणको सिलसिला शुरू गरेका थिए ।

पुर्जाले गत अप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए।

मेमा सगरमाथा चढेका उनले पाँच दिनमा लोत्से र मकालु पनि चढेका थिए।

सगरमाथा चढ्ने क्रममा उनले खिचेको भीडको तस्वीर संसारभर चर्चामा आएको थियो।

पुर्जाले सेप्टेम्बरमा नै शीशापाङ्मा आरोहण गर्न चाहन्थे। चिनियाँ सरकारले अनुमति नदिएकाले उनको अभियान रोकिएको थियो।

नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबरमा अनुमति पाएका थिए।

३६ वर्षीय पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए।

प्रतिक्रिया दिनुहोस्