आकाशगंगामा ३६ वटा बुद्धिमान सभ्यता हुन सक्छन्ः अध्ययन

वासिङ्टन। वैज्ञानिकहरूले हाम्रो आकाशगंगामा ३६ वटा सक्रिय बुद्धिमान सभ्यता हुन सक्ने बताएका छन्।

‘एस्ट्रोफिजिकल जर्नल’मा प्रकाशित यससम्बन्धी शोधको रिपोर्टमा समय र दूरीका कारण ती सभ्यतासँग सम्पर्क स्थापित हुन नसकेको सम्भावना उल्लेख गरिएको छ।

सन् १९६१ मै खगोलविद् फ्र्यांक ड्रेकले यससम्बन्धी अनुमान सार्वजनिक गरेका थिए, जसलाई ‘ड्रेक इक्‍वेसन’ नाम दिइएको छ।

“उनको शोध एक्स्ट्रा टेरेस्ट्रायल इन्टेलिजेन्स (सीईटीआई) को गणनाको मुख्य आधार हो। तर, यससम्बन्धी धेरै शब्दावली अज्ञात छन्,” नयाँ अध्ययन रिपोर्टमा भनिएको छ, “ती सभ्यताको उपस्थिति पत्ता लगाउन अन्य कुनै पद्धति अपनाउनुपर्छ।”

युनिभर्सिटी अफ नटिङ्घमका वैज्ञानिकहरूले आफ्नै प्रकारको पहुँच विकास गरेका छन्। ड्रेक इक्‍वेसनबाट जीवन कसरी विकास हुन्छ भन्ने आधारभूत जानकारी प्राप्त भएको उक्त विश्वविद्यालयका प्राध्यापक तथा पछिल्लो शोधका सहलेखक क्रिस्टोफर कन्सेलाइस बताउँछन्।

ड्रेक इक्‍वेसनले आकाशगंगामा ताराहरूको निर्मााणको इतिहास, ताराहरूको आयु, तारामा रहेका धातु, तिनमा ‘ह्याबिटेबल जोन’मा पृथ्वीजस्ता ग्रहहरूको उपस्थिति र तिनमा जीवनको सम्भावना खोतलेको छ।

सीएनएनका अनुसार सोही आधारमा वैज्ञानिकहरूले हाम्रो आकाशगंगामा ३६ वटा बुद्धिमान सभ्यताको उपस्थिति हुन सक्ने विश्लेषण गरेका हुन्। पछिल्लो समय पृथ्वीमा रेकर्ड भइरहेका रहस्यमय रेडियो सिग्‍नलहरूको सम्बन्ध तिनै सभ्यताहरूसँग हुन सक्ने अनुमान पनि वैज्ञानिकहरूको छ।

पृथ्वीको प्राविधिक सभ्यता सय वर्ष पुरानो मात्र हो। ती बुद्धिमान सभ्यताको प्राविधिक सभ्यता पनि त्यसभन्दा पुरानो नहुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

पछिल्लो समय रेकर्ड भएका रेडियो सिग्‍नलका आधारमा ती सभ्यताहरूसँग पृथ्वीको दूरी कम्तिमा १७ हजार प्रकाश वर्ष टाढा हुन सक्ने आकलन वैज्ञानिकहरूको छ। र, अहिलेको प्रविधिबाट उनीहरूसँग सम्पर्क स्थापित गर्न सहज नभएको पनि वैज्ञानिकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्