चलचित्र उद्योगमा १ अर्बभन्दा बढी क्षतिको दाबी

काठमाडौं। लामो समयदेखिको लकडाउनका कारण चलचित्र क्षेत्रमा १ अर्ब १५ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। क्षतिको यकिन विवरण नभए पनि छायांकन गरेर प्रदर्शनको तयारीमा रहेका चलचित्र, बन्द सिनेमाघरलगायत क्षेत्रबाट उक्त मात्रामा क्षति भएको नेपाल चलचित्र निर्माता संघको आकलन छ।

"यो क्षतिको यकिन तथ्यांक होइन, अनुमानित मात्र हो। लकडाउनका कारण प्रत्येक दिन यो बढिरहेको छ," संघका अध्यक्ष आकाश अधिकारीले देखापढीसँग भने, "लकडाउन जति बढ्यो, क्षति पनि उति नै बढ्दै जान्छ।"

"यो क्षतिको यकिन तथ्यांक होइन, अनुमानित मात्र हो। लकडाउनका कारण प्रत्येक दिन यो बढिरहेको छ," संघका अध्यक्ष आकाश अधिकारीले देखापढीसँग भने, "लकडाउन जति बढ्यो, क्षति पनि उति नै बढ्दै जान्छ।"

प्रदर्शनको तयारीमा रहेका ४५ वटा चलचित्र यतिबेला थन्किएका छन्। यस्तै, करोडौंको लगानीमा बनेका हलहरू पनि कोरोना भाइरसको महामारीका कारण बन्द छन्। व्यवसाय बन्द भए पनि बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक, बिजुलीलगायतमा अहिले पनि खर्च भइरहेको छ।

लकडाउनबाट थेग्‍नै नसक्ने गरी ठूलो क्षति भएको तर्क गर्दै चलचित्रकर्मीहरूले राहतका विभिन्‍न योजनासहितको प्याकेज सरकारसँग माग गरेका छन्। जसमा २ वर्षका लागि सिनेमा हललाई कर छुट गर्नुपर्ने, चलचित्र रिलिज गर्दा लगानीको २० प्रतिशत राज्यले दिनुपर्ने, असारमा तिर्नुपर्ने बैंक ऋणको किस्ता पुससम्म सार्नुपर्ने, व्याजदर घटाउनुपर्नेलगायत माग समावेश छन्। छायांकनमा जाने चलचित्रलाई पनि लगानी तथा बिमामा सहुलियतको माग पनि गरिएको छ।

"राज्यबाट यतिसम्म सहुलियत भयो भने दुई वर्षसम्म चलचित्र क्षेत्रलाई चलायमान बनाउन सकिन्छ," अध्यक्ष अधिकारी भन्छन्, "सामान्य अवस्थामा एउटा चलचित्र छायांकनका लागि ५० दिन लाग्थ्यो भने महामारीका बेला ७० वा ८० दिन पनि लाग्‍न सक्छ। त्यसैले सहुलित मागेका हौं।"

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का पनि लकडाउनका कारण चलचित्रकर्मी आर्थिक संकटमा परिरहेको बताउँछन्। "कलाकारलाई त खासै समस्या छैन। तर, चलचित्रमा काम गर्ने अन्य प्राविधिक तथा श्रमिक समस्यामा परेका छन्," अध्यक्ष खड्काले भने।

लकडाउनका कारण वर्ष २०७७ को रिलिज क्यालेन्डर अन्योलमा परेको छ। त्यसैले प्रर्दशनको तयारीमा रहेका चलचित्रको प्रचार-प्रसार पनि सरकारले गरिदिनुपर्ने चलचित्रकर्मीहरूको माग छ।

कुन-कुन चलचित्र प्रदर्शनको तयारीमा?

गत ७ चैतमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नीरफूल’ अन्तिम समयमा आएर रोकियो। यस्तै, ‘सुस्केरा’, ‘लक्का जवान’, ‘माइकल अधिकारी’, ‘प्रेम गीत-३’, ‘चपली हाइट-३’, ‘लप्पन छप्पन’, ‘षड्कोण’, ‘आकाशे खेती’लगायत २४ वटा चलचित्रले आफ्नो प्रदर्शन मिति नै रोकेका थिए। तीमध्ये धेरैले त प्रचार प्रसारमै लाखौं रुपैयाँ खर्च गरिसकेका थिए।

लकडाउनका कारण वर्ष २०७७ को रिलिज क्यालेन्डर अन्योलमा परेको छ। त्यसैले प्रर्दशनको तयारीमा रहेका चलचित्रको प्रचार-प्रसार पनि सरकारले गरिदिनुपर्ने चलचित्रकर्मीहरूको माग छ।

कोभिड-१९ महामारीका कारण समग्र पेशा नै धरापमा परेका बेला राष्‍ट्रिय चलचित्र विकास बोर्डले केही दिनअघि मात्र नेतृत्व पाएको छ। बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले सरोकारवाला सबैसँग सहकार्य र छलफल गरेर नयाँ योजना तर्जुमा गरिने बताए।

प्रतिक्रिया दिनुहोस्