ग्रेटाले अस्वीकार गरिन् वातावरण पुरस्कार
काठमाडौं। स्वीडेनकी १६ वर्षीया बालिका ग्रेटा थनबर्गले यो वर्षको वातावरण पुरस्कार अस्वीकार गरेकी छन्।

थनबर्गले ‘जलवायुसम्बन्धी आन्दोलनलाई कुनै पुरस्कारको आवश्यकता नभएको’ बताउँदै पुरस्कार लिन अस्वीकार गरेकी हुन्।

पुरस्कार लिन अस्वीकार गरेको जानकारी उनले आफ्नो इन्स्टाग्राममार्फत् दिएकी छन्।

पुरस्कार अस्वीकार गरे पनि उनले आफूलाई पुरस्कारको हकदार मान्ने नर्डिक काउन्सिललाई धन्यवाद ज्ञापन गरेकी छन्। ‘यो मेरा लागि ठूलो सम्मान हो,’ उनले भनेकी छन्।

यद्यपि उनले राजनीतिज्ञ र शक्तिमा रहेका मानिसले वर्तमान समयमा प्राप्त विज्ञानका विषयलाई सुन्नुपर्ने बताएकी छन्।

ग्रेटालाई यो वर्ष प्रदान गरिएको नोवेल शान्ति पुरस्कारका लागि प्रमुख दाबेदारका रूपमा हेरिए पनि इथियोेपियाका प्रधानमन्त्री अबी अहमदलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् पुरस्कार अस्वीकार गर्नुको कारण खुलाएकी ग्रेटाले भनेकी छन्, “जलवायु परिवर्तन र वातावरणीय विषयमा नर्डिक राष्ट्रको विश्वमा आफ्नै किसिमको सम्मान छ। यो विषयको बहसमा होस् अथवा सुन्दर शब्दको प्रयोगमा कुनै कमी छैन।” तर, नर्डिक राष्ट्रले उपयोग गर्ने उर्जाले ‘अर्को कथा बताइरहेको छ।’

संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी ग्रेटाले विश्वका नेतालाई जलवायु परिवर्तनको विषयलाई मजाकका रूपमा हेरेको आरोप लगाएकी थिइन्। उक्त घटनापछि नै ग्रेटामाथि विश्वको नजर परेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्