चौधरी मृत्यु प्रकरणः महेन्द्रनगरमा चारजना पक्राउ

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।

११ कात्तिक साँझ महेन्द्रनगर बजारमा रहेको पुष्पाञ्जली गेष्ट हाउसको पाँचौं तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो।

अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एकजना युवतीलाई नियन्त्रणमा लिई सोधपुछको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।

“मृतकको शव परीक्षणको प्रतिवेदन अझै आएको छैन,” उनले भने, “शव परीक्षणको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ।”

चौधरीेको गेष्ट हाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए।

११ कात्तिक राति ९ बजे घरमा रहेका चौधरीलाई गेष्ट हाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएका थिए। त्यसको दुई घण्टापछि मृत्युको खबर आएकाे चौधरीका परिवारजनले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्