ज्ञानेन्द्रको कप्तानीमा पहिलो खेल विश्व प्रसिद्ध क्लब एमसीसीसँग

काठमाडौं । पारस खड्काले कप्तानबाट राजीनामा दिएको दुई सातापछि नेपालली क्रिकेटले ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तान पाएको छ । मल्ल एक दशक राष्ट्रिय टीमको उपकप्तान रहेका र बीचका विभिन्न टुर्नामेन्टमा कप्तानीसमेत गरिसकेका अनुभवी खेलाडी हुन् ।

मल्ल आज राष्ट्रिय क्रिकेट टीमको कप्तान नियुक्त भएपछिको पहिलो खेल विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग हुनेछ । एमसीसी लेगेसी टुर अन्तर्गत ६ वटा खेल खेल्न भोली नेपाल आउँदैछ। जसमा मल्लको कप्तानीमा रहने नेपालको राष्ट्रिय टीमसँग एउटा ५० ओभरको र एउटा तीन दिवसीय खेल खेल्नेछ । यो तीन दिवसीय खेलले फस्ट क्लासको मान्यता पाउने छ ।

२८ असोजमा पारस खड्काले राजीनामा दिएपछि रिक्त रहेको राष्ट्रिय क्रिकेट टीमको कप्तानमा एमसीसीको नेपाल टुरलाई मध्यनजर गर्दै क्यानले आज मल्ललाई जिम्मेवारी दिएको हो। आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेको भोलिपल्ट पारसले विज्ञप्ती र सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। त्यही दिन पारसले सञ्चारकर्मीमाझ अब कप्तानमा नफर्कने बताएका थिए।

११ असोजमा चतुरबहादुर चन्दको अध्यक्षतमा क्यानको नयाँ कार्यसमिति चयन भएपछि आइसीसीले २७ असोजमा निलम्बन फुकुवा गरेको थियो। पारसले क्यानमा नयाँ नेतृत्व आएपछि नेपाली क्रिकेटलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने भन्दै कप्तान छाडेका थिए।

सन् २००९ मा पारस कप्तानमा नियुक्त हुँदा ज्ञानेन्द्र उपकप्तान चयन भएका थिए। पारसले एक दशक नेतृत्व गर्दा ज्ञानेन्द्रले उपकप्तानको रूपमा उनलाई साथ दिएका थिए।

राजीनामा घोषणा गर्दा पारसलाई अबको कप्तान को हुनेछ ? भनि सोधिएको थियो । उनले भनेका थिए, “सिनियर खेलाडीको आधारमा ज्ञानेन्द्रलाई अबको एक वर्ष कप्तानको जिम्मेवारी दिनपुर्छ।”

क्यानले पनि पारसकै सोचलाई पछ्यायो ।

ज्ञानेन्द्र कप्तान बनेपछि पारसले सामाजिक सञ्जालमार्फत बधाइ दिँदै उपयुक्त व्यक्ति चयन भएको बताएका छन्। यस्तै पारसले ज्ञानेन्द्र अनुशासित र प्रतिवद्ध खेलाडी भएको भन्दै उनको कप्तानीमा नेपालले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

निलम्बन फुकुवा भएपछि ३ कात्तिकमा क्यान कार्यसमितिको बैठक बसेको थियो। त्यसबेला क्यानलाई पारसको राजीनामाबारे औपचारिक जानकारी थिएन। क्यानले सामाजिक सञ्चाल र मिडियामा आएको सूचना मात्रैलाई राजीनामा नमान्ने बताएपछि पारसले १० कात्तिकमा राजीनामा बुझाए । त्यसपछि क्यानले नयाँ कप्तान चयन प्रकिया शुरू गरेको थियो ।

क्यान अध्यक्ष,सचिव र प्राविधिक समितिको संयुक्त छलफलबाट ज्ञानेन्द्रलाई कप्तान चयन गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

यस्तै युवा खेलाडी दीपेन्द्र सिंह ऐरीलाई क्यानले उपकप्तानमा निरन्तरता दिएको छ। यसअघि नेपालको सिंगापुर र ओमान टुरमा दीपेन्द्र नै उपकप्तान थिए। त्यतिखेर ज्ञानेन्द्र व्यक्तिगत कारण देखाउँदै टुरमा सहभागी भएका थिएनन्।

राष्ट्रिय टीमका पूर्व प्रशिक्षक तथा हाल राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमाटाले कप्तानमा सही व्यक्ति छनोट भएको देखापढीलाई बताए। “नेपाली टिमको लागि लामो समय खेलेको छ। अनुभव छ। इमर्जिङ कपमा पनि ज्ञानेन्द्रले कप्तानी गरिसकेको छ”, टमाटाले भने ।

यसअघि पारस अनुपस्थित हुँदा वा खेल्न नसक्ने हुँदा ज्ञानेन्द्रले नै नेपालको कप्तानी गरेका थिए। सन् २०१४ मा न्यूजिल्याण्डमा भएको आइसीसी क्रिकेट विश्वकप छनोटमा पारस अस्वस्थ हुँदा ज्ञानेन्द्रले कप्तानी गरेका थिए। यस्तै ज्ञानेन्द्रले एसीसी इमर्जिङ टीम्स कपमा पनि नेपालको कप्तानी गरिसकेका छन्। उक्त प्रतियोगितामा पारस टीममा थिएनन्।

सन् २००६ मा राष्ट्रिय टिममा डेब्यु गरेका ज्ञानेन्द्र ओडिआईमा नेपालका लागि तेस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्। यस्तै टी-२० आईमा सर्वाधिक रन बनाउनेमा ज्ञानेन्द्र दोस्रो स्थानमा छन्। दुवै फर्म्याटमा सर्वाधिक रन हान्नेमा पारस अगाडि छन्।

ज्ञानेन्द्रले राष्ट्रिय टीमबाहेक घरेलु क्रिकेटमा पनि नेतृत्व गरिसकेका छन्। उनको कप्तानीमा गत वर्ष ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग ९इपीएल० को उपाधि जितेको थियो। यस्तै ज्ञानेन्द्रले धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्स र पोखरा प्रिमिर लिगमा काठमाडौं रोएल्सको कप्तानी गरिसकेका छन्।

पढ्नुहाेस्ः

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ कप्तान

कप्तानबाट राजीनामा दिएका पारसले भने– ‘एक वर्ष ज्ञानेन्द्रलाई नेतृत्व दिऊँ’ (भिडिओ)

‘लेगेसी टूर’ अन्तर्गत एमसीसी नेपाल आउँदै, नेपालको कप्तान आज बेलुकासम्म टुंगो लाग्‍ने

अब नेपाली टिम हाँक्ने कप्तानको खोजीमा छु: पारस खड्का

कप्तानबाट पारस खड्काको राजीनामा

प्रतिक्रिया दिनुहोस्