मेची नाका दुईतर्फी सञ्चालनमा, बंगलादेशसम्म अम्रिसो निकासी
<p>काठमाडौं। लामो समय एकतर्फी सञ्‍चालनमा रहेको पूर्वी नाका मेची भन्सारबाट निकासी पनि हुन थालेको छ।</p>
<p>भारतको पश्‍चिमबंगाल सरकारले हिजोदेखि नेपालबाट सामान आयात गर्न दिएको हो। हिजो नेपालबाट अम्रिसो बोकेका ६ वटा ट्रक बंगलादेशतर्फ गएको मेची भन्सार प्रमुख ध्रुवराज विश्‍वकर्माले देखापढीलाई बताए। उनले भने, “बिहीबार एउटा अम्रिसो बोकेको गाडी बंगलादेश गएको थियो। हिजो ६ वटा गाडी गए।”</p>
<p>यस्तै, मेची नाकाबाट अलैँची बोकेर दुईवटा गाडी भारत गएको विश्‍वकर्माले बताए। मेची पुलमा अम्रिसो बोकेका थप २० वटा गाडी छन्। ती गाडी पश्‍चिमबंगाल सरकारले आज छाड्न सक्ने उनले बताए।</p>
<p>मेची नाकाबाट नेपालले २६ चैतदेखि निर्यात गर्न पाएको थिएन। खासगरी, पश्‍चिमबंगाल सरकारले कोरोना भाइरसको कारण देखाउँदै नाका पूर्ण रूपमा सिल गरेको थियो। नेपालले नाका खोल्न उच्चस्तरीय पहल गरेपछि एकतर्फी रूपमा खुलेको थियो। तर, पश्‍चिमबंगाल प्रहरीले नाकाबाट कुनै पनि ट्रक जान दिएको थिएन।</p>
प्रतिक्रिया दिनुहोस्