नेपालगंजमा कैदीबन्दीको आन्दोलन यथावत

काठमाडौं। नाइके परिवर्तन हुनुपर्ने भन्दै आज बिहानैदेखि बाँकेको नेपालगंज कारागारका कैदीबन्दीले अहिले पनि आन्दोलन गरिरहेका छन्।

उनीहरुले बिहान केही घण्टा कारागारभित्रै नारावाजी गरेका थिए। कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर आन्दोलन गरिरहेका छन्।

नाइके भरत फडेरा र अर्का कैदी मानबहादुर शाहीलाई बाहिर निकालेर उनीहरुले मूलढोकामा भित्रबाट ताला लगाएका हुन्।

समस्या समाधानका लागि कैदिबन्दीसँग छलफल भइरहेको कारागारका निमित्त प्रमुख बखतकुमार थापाले बताएका छन्।

“उनीहरुले सीडीओ र एसपीसापसँग पनि लिखित रुपमा आफ्ना माग राखेका छन्,” थापाले भने, “अहिलेसम्म पनि उनीहरुले भित्रबाट लगाएको ताला भने खोलेका छैनन्।”

जेलर आएपछि थप छलफल गरेर मात्रै आन्दोलन फिर्ता लिने उनीहरुको अडान छ । १०/१५ जना कैदीबन्दीको समूहले बिरोध गरिरहेको हो।

बिहानैदेखि उनीहरुले आन्दोलन थालेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख कारागार पुगेर कैदीबन्दीसँग छलफल गरेका थिए।

“नाइकेले कैदीबन्दीको राशन र दैनिक उपभोग्य वस्तुको खरिदमा अनियमितता गरेपछि आन्दोलन थालेका हौं,” एक कैदीले भने,“नाइके नेफेरिएसम्म हामी सम्झौता गर्दैनौं।”

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर वलीले कैदीबन्दीले नाइके परिवर्तनको माग राखेको बताए।

उनले देखापढीसँग भने, "चौकीदार (नाइके) परिवर्तन गर्नुपर्‍यो भन्ने माग गरेका छन्, हामी त्यसलाई सुल्झाउदैछौं त्यस्तो गम्भीर केही छैन।"

प्रतिक्रिया दिनुहोस्