कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

काठमाडौं। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको कृष्णनगर क्षेत्रमा आज बिहानदेखि कर्फ्यु लगाएको छ।

कृष्णनगर नगरपालिकाको बजारक्षेत्रमा लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर तनाव भएपछि प्रशासनले बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै कर्फ्यु लगाएको हो ।

१३ कात्तिक साँझ स्थानीयबीच विवाद बढेपछि प्रहरीले लाठी चार्ज र अश्रु ग्याँस प्रहार गरेको थियो। कृष्णनगर बजार आज बिहानैदेखि तनावग्रस्त भएको छ।

विवादको क्रममा प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको स्थानीय पत्रकार गोपाल भण्डारीले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सूचना जारी गरी कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० र पूर्वतर्फ ३०० मिटर क्षेत्रभित्र आज कर्फ्यु आदेश जारी गरिएको जनाएका हुन् ।

साथै कर्फ्यु अवज्ञा गरिएको पाइएमा कानून बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्