नेकपा स्थायी कमिटी बैठक भोलि बस्दै

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए।

उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

यसअघि गत ३१ वैशाखमा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोभिड-१९ परीक्षणपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो।

स्थायी कमिटी सदस्य वेदुराम भुषालले सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने जानकारी दिए।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछन्।

स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी), बजेट र कोभिड-१९ का बारेमा बैठकमा छलफल हुने बताए। रासस

प्रतिक्रिया दिनुहोस्