अन्नपूर्णले ल्यायाे ६६ करोड १२ लाखकाे बजेट
<p>पोखरा। कोभिड-१९ को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ६६ करोड १२ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष सगुन गुरूङले आज आगामी आवका लागि बजेट सार्वजनिक गरेका हुन्।</p>
<p>कूल बजेटमध्ये चालुतर्फ ४३ करोड २३ लाख १८ हजार र पूँजीगततर्फ २२ करोड ८८ लाख ८२ हजार रूपैयाँ विनियोजन गरिएको छ। विषयगत समितिअन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उनले पूर्वाधार विकासतर्फ १६ करोड ५४ लाख, आर्थिक विकासतर्फ तीन करोड ४९ लाख, सामाजिक विकासतर्फ ३७ करोड ४० लाख रूपैयाँ विनियोजन गरिएको छ।</p>
<p>कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेटक्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण गर्न प्रोत्साहित गरिनेलगायतका नीति लिएको छ।</p>
<p>बजेटमा गाउँपालिकाभित्र पूर्वाधार विकासअन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्